Harsamaya
डा रुइतले भने - मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत ।

काठमाडौं - वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले राजनीतिमा प्रवेश गर्ने सम्भावना नरहेको बताएका छन् । 

उनले आज एक विज्ञप्ति जारी गरी ‘जेनजी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा हल्लामात्र भएको बताएका हुन् । 

डा रुइतले लामो चिकित्सकीय यात्रामा साथ दिँदै आएका नेपालीबाट भविष्यमा पनि सद्भाव, साथ र माया पाइरहने विश्वास व्यक्त गरे । ‘मलाई प्रत्येक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गर्न आग्रह आउने गरेको छ, तर म स्पष्ट छु मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीलाई आफ्नो सीप, ज्ञान र समय दिएर सेवा गर्नु हो’, विज्ञप्तिमा भनिएको छ । 

डा रुइतले सबै नागरिकले आ–आफ्नो पेसा, कर्म र व्यवसायमा इमानदारीपूर्वक लागे मुलुकको अवस्था परिवर्तन गर्न धेरै समय नलाग्ने बताए । आफू निरन्तर चिकित्सकीय पेसामार्फत नागरिक सेवामा तल्लीन रहने उनको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update