Harsamaya
नदीमा डुबेको अवस्थामा दुई जनाको शव फेला 
जितिया पर्वको (नहायखाय)का लागि व्रतालुसंगै नदीमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु .

रौतहट - जितिया पर्वको (नहायखाय)का लागि व्रतालुसंगै नदीमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । 

गौर नगरपालिका–६ सवगढका ब्रतालुहरुसंगै लालबकैया नदीमा नुहाउन गएकी बालिकाको शनिबार बिहान डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गौर नगरपालिका–६ बैजु साहको १० वर्षीया छोरी करिश्मा साह आमासंगै नुहाउने क्रममा शनिबार विहान डुबेर वेपत्ता भएको खवरपाएपछि नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी तथा स्थानीयले खोजी गरेका हुन् । 

शनिबार बिहानदेखि खोजी गरेपनि दिउँसो बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले जानकारी दिए ।

जितिया पर्वको (नहायखाय) अर्थात पवित्र जलाशयमा नुहाएर चोखो खाना खाने दिन भएको हुँदा व्रतालुसंगै बालिका पनि नदीमा नुहाउन गएको उनले बताए । 

उनका अनुसार बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ  । यसैगरी लालबकैया नदीमा पौडी खेल्न तथा नुहाउन गएका इशनाथ नगरपालिका–१ का १५ बर्षीय विगन साहको पनि शनिबार बिहान शव फेला परेको एसपी गिरीले बताए । 

गत विहीबार साथीहरुसंग लालबकैया नदीमा पौडी खेल्न गएका साहको शव ८ किलोमिटर दक्षिणतर्फ भारतीय क्षेत्रमा फेला परेको उनले बताए । साहको शव ल्याउन भारतीय प्रहरीसंग समन्वय भइरहेको र घरका सदस्यहरु त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update