Harsamaya
पूर्वप्रधानन्यायाधीश कार्कीलाई तुरुन्तै गर्न सकिने व्यावहारिक कदमहरू चाल्न एमाले नेता बस्नेतको सुझाव

काठमाडौं - नेकपा (एमाले)का नेता महेश बस्नेतले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बन्ने निश्चित भएमा बधाई दिँदै तुरुन्तै गर्न सकिने व्यावहारिक कदमहरू चाल्न सुझाव दिएका छन् ।शुक्रबार सामाजिक सञ्जालमार्फत अन्तरिम प्रधानमन्त्री भएपछि मृतक र घाइतेलाई न्याय र क्षतिपूर्ति, राहत र पुनर्स्थापना कोषलगायत अन्य तुरुन्तै गर्न सकिने सुझाव दिएका हुन् ।

उनले हालको विनाशकारी आन्दोलनपछि देशले नेतृत्व र न्याय दुवै खोजिरहेको बेला जनताले कार्कीलाई अगाडि ल्याएको भन्दै पुनर्निर्माण र न्यायका लागि काम गर्न अपिल समेत गरेका छन् । 

बस्नेतले सुझाव दिएका तुरुन्त गर्नुपर्ने कामहरू

 १. मृतक र घाइतेलाई न्याय र क्षतिपूर्ति

आन्दोलनका क्रममा मृत्यु भएकाहरू र घाइतेहरूलाई न्याय दिलाउन द्रुत र स्वतन्त्र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुहोस्। आयोगले ३० दिनभित्र प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरोस् र दोषीहरूलाई द्रुत न्यायिक कारबाहीमा ल्याओस्।

 २. राहत र पुनर्स्थापना कोष

आगलागी, तोडफोड र क्षतिग्रस्त भएका श्रमिक र परिवारका लागि तलब, उपचार र अस्थायी आवासको व्यवस्था गर्न सार्वजनिक–निजी साझेदारीमा राहत कोष स्थापना गर्नुहोस्।

 ३. न्याय र दण्ड सुनिश्चित गर्ने व्यवस्था

सरकारी वा गैरसरकारी क्षेत्रमा देखा परेका हिंसा, दुरुपयोग र अपराधमा संलग्नलाई प्रमाणमा आधारित कारबाही गर्नुहोस्। यस प्रक्रियामा कुनै राजनीतिक पक्षपात हुनु हुँदैन।

 ४. सुरक्षा र सम्पत्ति संरक्षण

निजी व्यवसाय, विद्यालय, अस्पताल र सार्वजनिक संरचनाको सुरक्षा तुरुन्त पुनः स्थापित गर्नुहोस्। बिमाको दाबी छिटो टुङ्ग्याइने व्यवस्था मिलाउनुहोस्। साना व्यवसायलाई ब्याजमुक्त वा सहज ऋण उपलब्ध गराउनुहोस्।

 ५. रोजगारी र आर्थिक पुनरुत्थान योजना

प्रभावित उद्योग र रोजगारी पुनः स्थापनाका लागि कर छुट, अनुदान र सीप तालिम कार्यक्रम सुरु गर्नुहोस्। युवाहरू र गृहिणीहरूलाई लक्षित गर्दै रोजगार ग्यारेन्टी कार्यक्रम ल्याउनुहोस्।

 ६. शिक्षा र नागरिक सेवा सुचारु गर्नुहोस्

विद्यालय, कलेज र नागरिक सेवाका कार्यालयलाई छिट्टै सञ्चालनमा ल्याउनुहोस्। परिचयपत्र वा प्रमाणपत्र पाउन समस्या परेकाहरूका लागि अस्थायी मोबाइल टोली पठाउनुहोस्।

 ७. पारदर्शी पुनर्निर्माण

पुनर्निर्माणका लागि तोकिएको रकम र समय सीमा सार्वजनिक गर्नुहोस्। नागरिक समाज र सरोकारवालाले अनुगमन गर्न सक्ने व्यवस्था मिलाउनुहोस्।

नेता बस्नेतले सहर, पसल, विद्यालय र इतिहास ढुङ्गा–माटो नभई रोजीरोटी, शिक्षा र भविष्य भएको बताए । अहिले देशमा आर्थिक क्षतिका साथै आत्म गौरवमा समेत चोट परेको बताए ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update