Harsamaya
निरकुंश, क्रुर र अपराधी सरकार कुर्सीमा बस्न लाज लाग्दैन !
ग्राफिक्स : हर समय/Har Samaya

सोमबार नेपालका सडकमा देखा परेको जेन-जी पुस्ताको स्व:स्फूर्त आन्दोलनमा सरकारले गरेको बरबर दमनको जति निन्दा गरेपनि पुग्दैन । केपी ओली सरकारले १९ जना निहत्थामाथि गोली वर्षाएर हत्या गर्यो भने ४ सय बढीलाई घाइते बनायो। नेपालमा भएका विभिन्न आन्दोलनमा क्रममा तीन घण्टामा यति धेरैको मृत्यु भएको सायदै यो पहिलो घटना होला ।

सरकारले जसरी जेन-जीको नरसंहार गर्यो यो इतिहासमा कालो अक्षरले लेखिने छ। भ्रष्टाचार र कुशासनको विरोधमा ओर्लिएको मानव सागरमाथि गरेको प्रहरी दमनले हरेको नेपालीको मुटु थरथरी कापेको छ । सरकार अभिभावक हुनुपर्ने हो। तर अभिभावक भनिएको सरकारले नै विद्यालय र कलेजको ड्रेस लगाएका माथि गोली चलाउने आदेश दिएको छ र सडकमा उर्लिएका कलिला विद्यार्थीहरूलाई सडकमा नै ढालेको छ । हरेक नेपालीको निद उडाएर आँखामा आँसु उपहार दिएको यो सरकार बालुवाटार र बुढानिलकण्ठमा मस्त निदाइरहेको छ ।

सरकार यति निरकुंश, क्रुर र अपराधी कसरी हुन सक्छ ? यस्ता अपराधीहरूलाई हामीले सरकार भनेर मान्न सक्छौं ? कलिला बालकहरूको रगतको होली खेलेर कुर्सीमा ङिच्च दाँत देखाएर बसिरहन के ओली सरकारलाई लाज लाग्दैन ? यदि लाज लाग्ने भए प्रधानमन्त्रीले माफी माग्दै राजीनामा दिइसक्थे । तर उनी अझै आफ्ना कर्तुतहरू ढाकछोपमा नै व्यस्त छन् । यसले अहिले सरकारको नेतृत्व गरिरहेका कोहीलाई माफी दिने छैन। र कदापि दिनुपनि हुँदैन ।

हिजोको आन्दोलन एक झिल्को हो । अब यो देशमा मात्रै नभएर संसारभर फैलिएको छ । विश्वको जुनसुकै कुनामा रहेका नेपालीहरू जुरुक्क उठेका छन् । यसलाई रोक्न र रोकिन कदापि दिनुहुँदैन । भ्रष्ट र भ्रष्टाचारको झुण्ड भएको वर्तमान सरकारको नेतृत्व गरिरहेका केपी ओली लगायत सबैले राजीनामा दिनुपर्छ । घटनाका दोषी देखिएका गृहमन्त्रीले राजीनामा मात्रै दिएर उन्मु्क्ति पाउने छैनन् । गत सालको बाढी पहिरोमा परेका जनताको उद्धार गर्न असफल देखिएका लेखक राजावादी आन्दोलन र भिजिट भिसा काण्ड लगायत धेरैमा दोषी देखिएका पात्र हुन् । हिजोको नरसंहार पनि प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मिलेमत्तोबिना सम्भव थिएन । तसर्थ ओली र लेखकहरूमाथि छानबिन गर्न स्वतन्त्र छानबिन समिति बनाउनु पर्छ । दोषी देखिएका उनीहरूलाई कानुन अनुसार कारबाही गर्नुपर्छ ।

अहिलेको विषम परिस्थितिमा माओवादी, रास्वपालगायत दलहरूले धमिलो पानीमा माछा मार्ने प्रयास गरिरहेका छन् । अहिलेको केपी ओली सरकारलाई पुरै दोषी देखाएर आफू पानीमाथिको ओभानो हुन खोजिरहेका छन् । तर जनताले यो कुरा बिर्सिएका छैनन् डेढ वर्ष अघिसम्म प्रचण्ड सरकारको नेतृत्वमा थिए । तीन दशक अघि माओवादी सशस्त्र विद्रोहको कमाण्ड गरेर दुई दशक अघि शान्तिपूर्ण राजनीतिमा आएका उनले नेपाली जनताको जीवनमा परिवर्तन ल्याउन ल्याउन सकेनन् । न सुशासन कायम राख्नै पहल गरे । अब ओलीलाई सरकारबाट हटाएर शेरबहादुर देउवा वा प्रचण्ड सरकारको नेतृत्वमा आउने कुरा जेनजीलाई स्वीकार्य छैन । त्यसैले अब देशको नेतृत्व युवाले गर्नुपर्छ र युवाहरू अगाडि आउनुपर्छ ।

यो आन्दोलनले देशको असफल नेतृत्व, पुराना दलहरूको ढिलासुस्तीपूर्ण सोच र आम जनताको असन्तोषलाई मुखरित गर्दै नयाँ पुस्ताको स्पष्ट राजनीतिक चेतना प्रस्तुत गरेको छ । उनीहरूले अहिलेको सत्ता राजनीतिलाई अस्वीकार गर्दै आफूलाई परिवर्तनको वास्तविक शक्ति भनेर पहिचान गराएका छन् । हिजोको प्रदर्शनले अब युवालाई टालटुल भाषणले थाम्न सकिँदैन भन्ने स्पष्ट देखाएको छ ।

नेपाली राजनीतिले वर्षौदेखि नारा, घोषणापत्र र असफल वाचा मात्रै बाँड्दै आएको छ। युवा पुस्ताको आकांक्षालाई बारम्बार तोडेको छ । चकनाचुर बनाएको छ । जब गणतन्त्रको सपना धुलोमा परिणत भयो, संघीयताको मूल्य दलको कुर्चीको सौदा बनेर खुम्चियो त्यही क्षणदेखि नयाँ पुस्तामा आक्रोश थिचिँदै आएको थियो । हिजो त्यो आक्रोश सडकमा फुटेको हो ।

जेन-जीको आन्दोलनले पुराना राजनीतिक दललाई कठोर ऐना देखाएको छ । सरकारको जेन–जीलाई बालक ठान्ने अहंकार गरेर विद्रोह अझ भड्काउने काम नगरोस् । आज उनीहरू सडकमा छन्, भोलि मतपेटिकामा हुनेछन् र पर्सी सत्ता संरचनामा प्रवेश गर्नेछन् । त्यो दिन पुरानो पुस्तालाई आफ्नो अस्तित्व बचाउन हम्मे-हम्मे पर्नेछ ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update