Harsamaya

काठमाडौं - हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा आज(मंगलबार)बिहानैदेखि पशुपति मन्दिरमा दर्शन गर्नेहरुको भीड लागेको छ।

रातो पहिरनमा सजिएर मन्दिर पुगेका महिलाहरु कतै नाचगानमा व्यस्त छन् भने कतै भगवान शिवको दर्शनका लागि लाइनमा बसेका छन् । विहानैदेखि मन्दिर परिसरमा भीड थेगिनसक्नु छ।

दर्शन गर्नका लागि सहज बनाउन पशुपति क्षेत्र विकास कोषले सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गरेको छ भने पाशुपत क्षेत्रकै वातावरण नाचगान र भजनसँगै भक्तिमय बनेको छ।

काठमाडौं महानगरपालिका वडा नंम्बर १० को स्वयमसेविका गोमा बरालले यस वर्ष लाइन व्यवस्थापन एकमद राम्रो भएको सुनाउँछिन् । उनले कृत्रिम वाटर ड्रपलेटले शितल बनाउँदा ब्रतालुहरु ढल्ने, वेहोस हुने जस्ता समस्या नभएको पनि बताइन् ।

उनले भनिन्, ‘धेरै महिलाहरु दर्शनको लागि आउनु भएको छ । दर्शन गर्न सजिलै भएको छ । लाइन धेरैवेर बस्न परेको छैन । यसवर्ष ढल्ने, वेहोस हुने केही समस्या आएको छैन् । गत सालको भन्दापनि यो साल अझ व्यवस्थित छ । ब्रत बसेर दर्शन गर्न आएकाहरुले सजिलै दर्शन गर्न पाएका छन् । कृत्रिम वाटर ड्रपलेटले अझ सजिलो भएको छ, शितल बनाएको छ ।’

बरालका अनुसार देवी पार्वतीले अघिल्लो दिन दर खाएर आजको दिन शिव पति पाउ भनी निराहार वर्त बसेको कुरालाई अहिलेसम्म निरन्तरता दिइएको हो । बरालले श्रीमान नहुनेले छोरानाती र श्रीमान हुनेले श्रीमानको दिर्घायूको लागि ब्रतबस्ने गरेको बताइन् । आफ्नो इच्छा अनुसार ब्रत बस्ने गरेको उनले सुनाइन् ।

‘जसको श्रीमान छैनन् उहाँहरुले छोराहरुको लागि, नातीहरुका लागि, श्रीमान हुनेले श्रीमानको दिर्घायुको लागि, जसको विवाह भएको छैन उनीहरुले असल पति पाउ भन्नको लागि ब्रत बस्नुभएको छ । अरु आफ्नो इच्छा पनि होला’ उनले भनिन् ।

आजभोली खाने दरका कारण महिला नै बदनाम हुने र त्यस्तो प्रवृतिलाई न्यूनिकरण गर्नुपर्ने उनले बताइन् ।

उनले भनिन्, ‘हुनेले खाने हो । एकमहिनादेखि नहुनेले के खाने ? हिजो हाम्रा आमाहरुले तीन दिनको लागि पुग्नेगरी घाँस, दाउरा पुर्याएर दर खानुहुन्थ्यो र व्रतबसी नजिकैको मन्दिरमा दर्शन गर्नुहुन्थ्यो । हिजोआज विकृति फैलिएको छ । यसलाई न्यूनीकरण गर्नुपर्छ । छाडा प्रथा बढ्यो । जथाभावी खाएर हिड्दा महिलाहरुको बदनाम हुन्छ ।’

यस्तै धनगढीकी प्रिती आचार्यलाई पनि यस पटकको पशुपति मन्दिरको माहोलले धनगढीलाई बिर्सिएकी छन् । पोहोर सालको गर्मी सम्झिदै प्रितीले यस वर्ष कृत्रिम वाटर ड्रपलेटले तापक्रम कम गर्दा झनै रमाइलो भएको बताइन् ।

‘धनगढीमा पनि एकदमै रमाइलो हुन्थ्यो । तर यहाँपनि रमाइलो भइरहेको छ। कृत्रिम वाटर ड्रपलेटले तापक्रम कम गरेको छ । पोहोरसाल पनि म आएको थिए । त्यसवेला एकदमै गर्मी थियो । नयाँ व्यवस्थाले छिन छिनमा मुखमा पानी आएको जस्तो भइरहेको छ,’ उनले भनिन् ।

बालाजुबाट पशुपति आएकी अन्शु नाम बताउने युवतीले लाइन छिटो छिटो सर्दा दर्शन गर्न सहज भएको प्रतिक्रिया दिइन् । ट्राफिकको सहयोगले वातावरण सहज बनेको उनको धारणा छ ।

उनले भनिन, ‘पहिलाको भन्दा छिटो छिटो लाइन अगाडि बढेको छ । पहिला लाइन सर्दैनथ्यो अहिले ट्राफिक प्रहरीले पनि धेरै सहयोग गरेको भएर होला छिटो छिटो लाइन सरेको छ ।’

पहिलेको तीजलाई सम्झिदै आजको तीजमा धेरै भिन्नता आएको काठमाडौंको डिल्लीबजार घर भएकी रेनु उपाध्याय सुनाउँछिन् । बुढेसकाल लागेकाले पशुपति दर्शन गर्न गार्हो होला भन्ने थियो तर यसपाली सहज भएको सुनाइन् ।

‘डर लागेको थियो तर यसपाली सजिलै भयो । पहिले र अहिलेको तीजमा फरक छ । पहिले पहिले निराहार बसिन्थ्यो, केही खाने थिएनन्, अहिले नाचगान धेरै बढी छ ।’

उनले अहिले दर खाने भनेर विहे खाएको जस्तो गर्ने भन्दै भड्किलो तीज भएको बताइन् ।

उनले भनिन्, ‘दर खाने भनेर पार्टीमा गएर विहे खाएको जस्तो गर्छन । पहिले आफ्ना छोरी-चेलीवेटी, भान्जा-भान्जी सबै मिलेर राती ९÷१० बजे खान्थेँ । अहिले धेरै फरक छ । पार्टी गरेर दर खाने अली बढि भड्किलो भयो । सबै जम्मा भएर आफ्नै घरमा खाने राम्रो हो ।’

पशुपति विकास कोषले राम्रो व्यवस्था गरेको भन्दै कोषलाई धेरै धन्यवाद समेत दिएका छन् । -मनिषा बस्नेत

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update