Harsamaya
आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै

काठमाण्डौं - आज हरितालिका तीज पर्व मनाइँदै छ । नेपाली महिलाहरूले धुमधामका साथ तीज मनाउँदै छन् । भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलाहरू  देवादिदेव महादेवको पूजा आराधना गरी व्रत बस्ने परम्परा रहिआएको छ।

आजको दिन पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । शास्त्रअनुसार भाद्र शुक्ल तृतीयामा हरितालिका व्रत लिनाले सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास छ। विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै यो व्रत बस्ने गर्छन्। यद्यपि शास्त्रीय मान्यताअनुसार पुरुषहरूले पनि यो व्रत लिनुपर्ने उल्लेख छ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरी घाटमा तपस्या गरेर महादेवलाई पति पाएकी थिइन्। पिता हिमालयले विष्णुसँग पार्वतीको विवाह गराउन खोजेपछि साथीहरूले पार्वतीलाई लुकाएर सुरक्षित स्थानमा राखे। त्यही स्थानमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन्।

यस दिन पार्वतीलाई साथीहरूले हरण गरेको कारण संस्कृतका ‘हरित’ (हरण) र ‘आलिका’ (साथी) शब्दबाट ‘हरितालिका’ शब्द बनेको मानिन्छ। यो व्रत निराहार (कुनै खानेकुरा नखाई), जलाहार (जल मात्र) वा फलाहार (फलफूल) खाएर बस्न सकिन्छ।  निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोश समेत हुन सक्ने भएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ । सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने सकिने धर्मशास्त्रमा पनि उल्लेख छ ।

स्कन्ध पुराणअनुसार औषधि सेवन गर्दा व्रत भङ्ग नहुने उल्लेख छ। धार्मिक विश्वासअनुसार आजको दिन व्रत बस्ने र शिव–पार्वतीको पूजा गर्ने व्यक्तिको मनोकामना पूरा हुने मान्यता छ। 

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update