
बर्दिया - बर्दियामा नेपाल भारत सीमा क्षेत्रबाट ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट पक्राउ परेको छ । विशेष सुराकीको आधारमा नेपालबाट भारततर्फ अवैध रुपमा चोरी निकासी गर्दै गर्दा विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) सशस्त्र प्रहरीले फेला परेको हो ।मधुवन नगरपालिका वडा नं ५ गाउँ नं १० को फुलाराम चोकबाट दुई वटा साइकलमा राखेर भारततर्फ लैजाँदै गर्दा एक हजार ९ सय २० थान विद्युतीय चुरोट फेला परेको हो । विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी नायव निरिक्षक कमल बहादुर नेपालीका कमान्डमा गस्ती टोली सो स्थानमा खटाइएको थियो ।
स्पेशम्यान एसपी चालिस हजार नामक विद्युतीय चुरोटको बजार मूल्य प्रति थान दुई हजार पाँच सय रहेको छ । सशस्त्र प्रहरी ३१ नं गणका प्रहरी उपरीक्षक मानबहादुर शाहीका अनुसार पक्राउ परेको चुरोटको मूल्य ४८ लाख पाँच हजार रहेको छ । गस्ती टोली देख्नसाथ चोरी निकासीमा संलग्न दुवैजना सामान र साइकल छोडेर भारततर्फ भागेको उनले बताए ।
पक्राउ गरिएको विद्युतीय चुरोट आवश्यक प्रक्रिया पुरा गरी राजापुर भन्सार कार्यालय गुलरियामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक शाहीले बताए । खुला सिमानाका कारण नेपाल भारत सीमा क्षेत्र अवैध सामान ओसारपसार हुने गरेको पाइन्छ ।