Harsamaya

मधुसूदन पौडेल बागमती प्रदेश सरकारमा कृषि तथा पशुपन्छी विकासमन्त्री छन् । भर्खरै बनेको नयाँ सरकारमा उनी एमालेका तर्फबाट कृषि मन्त्री बनेका हुन् । वि.सं. २०३६ सालमा अनेरास्ववियुबाट राजनीति सुरु गरेका उनी प्रदेशसभामा ललितपुर क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएपछि पहिलो पटक मन्त्री बनेका हुन् । उनैसँग हरसमयले राखेको तीन प्रश्न ।

बागमती प्रदेशलाई आत्मनिर्भर कृषि प्रदेश बनाउन तपाईंले १०० दिनभित्र गर्न खोजेका ठोस काम के हो ?
किसानहरूको व्यवसायमा देखिएको समस्या भनेको बजारीकरणको हो ।  त्यसकालागि संचालनमा नआएका शित भण्डारहरुको संचालन गराउँछु भनेर लाग्या छौं । त्यसले बजारीकरणमा सहयोग पुर्याउँछ । प्रदेश सरकारले ठूलो लगानी गरेर स्थापना गरेको दुध कारखानालाई फुल फेजमा संचालन गर्छौं ।  किसानहरुसँग नै अन्तरक्रिया छलफल गरेर कृषिमा सहयोग पुग्ने गरी प्रदेश सरकारले के योजना लिएर आउनुपर्यो नयाँ योजना लिएर आउँछौं । 

किसानले वर्षेनि भोग्ने मल अभावलाई अन्त्य गर्ने दीर्घकालीन समाधान तपाईंको नजरमा के हो ?
दीर्घकालीन समस्या भनेको ३ वटा कुरा नै छ ।  गाउँपालिका र नगरपालिकाहरुमा भैरहेको मलको कोटा वृद्धि गर्ने । कृषियोग्य जमिनको रुपमा घोषणा नगरेका कारणले गर्दा पर्याप्त कोटा छैन । गाउँपालिका, नगरपालिकाहरुको तत्कालको आवश्यकता कति हो ? उहाहरुलाई चाहिने वास्तविक कोटा कति हो ? कति मल चाहिएको हो ? त्यसका आधारमा कोटा वृद्धि गरेर केन्द्र सरकारमा पठाउने केन्द्र सरकारले आवश्यकताका आधारमा मल आयात गर्ने । प्रांगारिक मल र जैविक मल उत्पादनका लागि जोड दिने । त्यसैलाई नै प्राथमिकता दिएर आगाडि बढ्ने । 

बागमती प्रदेशका युवालाई विदेश जानुभन्दा कृषिमा भविष्य देख्ने वातावरण कसरी सिर्जना गर्नुहुन्छ ?
यसका लागि बागमती सरकारले ल्याएका योजनालाई व्यवस्थित तरिकाले अगाडि बढाउँछौं । शिक्षित युवाहरुलाई बिना धितो  २५ लाखसम्म ऋण दिने व्यस्था गर्न लागिरहेका छौं । लोनलाई अनुदानको रुपमा मात्र बुझ्ने तरिकाबाट नलिकन् उनीहरुलाई कृषिमा प्रोत्साहित गर्ने ।  कृषिमा व्यवसायिक औद्योगिकीकरण कसरी वृद्धि गर्ने भन्ने कुरामा सहयोग गर्छौं । बैंकहरुसंग पनि यसका बारेमा छलफल गर्छौ । वार्ता गर्छौ । प्रदेश सरकारले छुट्याएको रकम सदुपयोगका लागि थप व्यवस्थित योजना बनाउँछौ ।  युवाहरुलाई कृषिमा लागेर नै नेपालमा आफ्नो व्यवसाय गर्न सकिन्छ भन्ने कुरामा प्रेरणा दिन्छौं ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  ०८:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update