
काठमाडौं - उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका ४१ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १९ वटा मोटरसाइकल र २२ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।
विभिन्न मितिमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको जगाती, ठिमी, थली, नरेफाँट, काडाँघारी, लैनचौर, चापागाउँ, नयाँबानेश्वर, हात्तिसार, एयरपोर्ट, सिफल, पुरानोबसपार्क, स्वयम्भू, गोकर्ण, सुन्दरीजल, कपन, धापाखेल, गल्फुटार, नेपालटार, नयाँबसपार्क र बालाजु लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।