Harsamaya

विराटनगर - कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले युवाहरूको सक्रियता र उद्यमशीलता नै प्रदेशको उज्ज्वल भविष्यको आधार भएको बताएका छन् ।

शुक्रबार विराटनगरमा आयोजित नेपाली उद्योग परिसंघ–युवा उद्यमी मञ्च, कोशी प्रदेशको दोस्रो अधिवेशनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री भण्डारीले युवाको सक्रिय सहभागिताले प्रदेशमै ठूलो सम्भावना रहेको स्पष्ट पारे ।

उनले भने, ‘देशमा सम्भावना नदेखेर युवाहरू पलायन भइरहेका बेला कोशी प्रदेशमा देखिएको युवाको सक्रियताले यहाँ पनि ठूलो सम्भावना छ भन्ने प्रमाणित गरेको छ ।’

उनीले उद्यमशीलतालाई प्रोत्साहन गर्न प्रदेश सरकार सधैं सकारात्मक भएर सहयोग गर्ने प्रतिवद्धता जनाए । साथै उनले पछिल्लो वर्षमा नेपालको आर्थिक वृद्धिदर वृद्धि भएको, जीडीपी थपिएको र बैंकमा तरलताको अभाव नभएको जानकारी दिए ।

‘एकल अंकको ब्याजदर कायम भएकाले लगानी गर्न इच्छुक व्यक्तिहरू उत्साहित भएका छन् । उद्योग विभागमा हुने अनावश्यक झन्झट हटाइएको छ ।’ मन्त्री भण्डारीले स्पष्ट पारे ।

संस्थाको अधिवेशनले सुशान प्रधानलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । प्रधानको नेतृत्वमा निर्वाचित कार्यसमितिमा रजत साहेवाला, केशव राठी, कुनाल साह, सुसान्त न्यौपाने, टुसर टोडी, शरद जोशी, अश्वीनी गोल्छा र आयुष भगत रहेका छन् ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update