
कैलाली - लम्कीचुहा नगरपालिकाका मेयर सुशिला शाही आजकल नगरलाई समृद्ध बनाउन लागि परेकी छिन् । शिक्षा, स्वास्थ्य, कृषि, भौतिक विकासका साथसाथै नगरमा रहेका महिला, विपन्न वर्गको आर्थिकस्तर उकास्नसमेत लागिपरेकी छिन् । आजको एक पाइला भोलिको समृद्ध नगरको प्रस्थानबिन्दु भन्ने राम्रोसँग बुझेकी नगरप्रमुख शाहीले विपन्न वर्ग र समाजमा पछि पारिएकाहरूको जीवनस्तर उकास्ने दिशामा अघि बढेकी हुन् ।
उनले कृषि पेशालाई प्रोत्साहन दिन किसानहरूलाई सम्मान गरेकी छिन् । धान दिवसका अवसरमा नगरभित्रका १० जना किसान सम्मानित भएका हुन् । नगरपालिकाले धान रोपाइँकै अवसरका ती किसानलाई सम्मान गरेको हो ।
नगर क्षेत्रमा जुत्ता चप्पल सिलाउनेलाई विभिन्न सहयोगी सामग्री प्रदान गरिएको छ । यस्तै, सिलाई कटाइ गर्ने महिलाहरूलाई सिलाइ मेसिन र दुना टपरी गाँस्न नगरभित्रका ४ वटा आमा समूहलाई मेसिन प्रदान गरिएको नगर प्रमुखको स्वकीय सचिवालयले जनाएको छ ।
नगरपालिकाले नगर क्षेत्र भित्रको सडकमा बसेर जुत्ता चप्पल सिलाएर जीविकोपार्जन गर्दै आएका १० जना श्रमिकहरूलाई जुत्ता सिलाउने मेसिन, वर्किङ बेन्च, कुर्जी, विभिन्न साइजका सोलहरू, छाता, सोलुसन, कैँची, सूईलगायतका सामग्री वितरण गरेको छ ।
यस्तै स्वरोजगारमा संलग्न गराउँदै आर्थिक सशक्तीकरण र आत्मनिर्भरताको दिशामा अघि बढाउने उद्देश्यले ४६ जना महिला दिदी बहिनीहरूलाई सिलाई–कटाई मेसिन वितरण गरिएको छ। साथै नगरपालिकाले नगरभित्रका ४ वटा आमा समूहलाई दुना–टपरी बनाउने मेसिन प्रदान गरेको छ।
यस कार्यक्रमबाट महिलाहरूले आफ्नै स्थानीय स्तरमा उद्यम सञ्चालन गर्न पाउने नगरपालिकाले आशा राखेको छ । जसका कारण उनीहरूको आय आर्जनमा वृद्धि हुनुका साथै दीर्घकालीन रूपमा उद्यमशीलता अभिवृद्धिमा समेत योगदान पुर्याउने मेयर शाहीले बताइन् । नगरपालिकाले यो कार्यक्रमलाई आत्मनिर्भर नगरपालिका बनाउने एउटा महत्वपूर्ण पाइला मानेको छ।