
मुगु - मुगुको मुगमकामारोङ्ख गाँउपालिकाको पाटनमा पाइने बहुमूल्य जडिबुटी संकलनको मौसम सुरु भएपछि पाटन क्षेत्रमा अवैध यार्सा संकलक गर्नेहरूको भीड लागेको छ ।
स्थानीय मुगमकामारोङ्ख गाँउपालिकाको पालिका स्तरीय निर्णय अनुसार हरेक वर्ष जेठ महिनाको १० गते भन्दा अगाडि पाटन प्रवेश गर्न अनुमति दिने व्यवस्था छ । तर अनुमति नलिइ र शुल्क समेत नबुझाइ यार्सा टिप्नेहरूको भीड लागेको हो ।
मुगुमकामाराङ्ख गाँउपालिका वडा नम्बर १ का कार्मा लामाका अनुसार प्रत्येक दिन दुई सय भन्दा बढी स्थानीय र जिल्ला बाहिरबाट यार्सा संकलन गर्नेहरू रातारात जाने गरेको समेत बताएका छन् ।
राता रात गरेर संकलकहरु बन प्रवेश गरेको सूचना आएपछि पालिकामा सरोकारवाला, सुरक्षा निकाय र पालिकाको निर्णय गरेर बन क्षेत्रमा अवैध रूपमा प्रवेश गर्नेहरुलाई कडा जरिवाना र कारबाहीमा ल्याउने तयारी गरिएको छ ।
विगतमा पहिले बन प्रवेश रसिद काटेर जेठ १० गते पालिका भित्र रहेका संकलन क्षेत्रमा अनुमति दिने गरिन्थ्यो तर यस वर्ष प्रवेशको समय अघि नै संकलकहरुको भीड लागेको हो ।
यार्सा संकलकहरुबाट गत वर्ष ७१ लाख राजश्व संकलन भएको थियो । यस वर्ष विगतको भन्दा बढी राजश्व संकलन गर्ने लक्ष्य लिइएको पालिका अध्यक्ष छिरिङ लामाले बताए । विगतका वर्ष भन्दा पछिल्ला वर्षहरूमा यार्सागुम्बा निकै कम पाइने गरेको छ ।