Harsamaya

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईले अख्तियारमा उजुरी पर्दा माथिल्लो तहको मान्छेलाई जोगाउने गरेकोले भ्रष्टाचारको जरो उखेल्न नसकेको बताएका छन् । 

बुधवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले अख्तियारमा बलिको बोको कर्मचारी मात्र हुने अवस्था भएको भन्दै कर्मचारीले पनि कोबाट निर्देशित भएको कुरा खुलाउन नचाहेको बताएका हुन् । 

उनले भने, ‘ठुला ठुला पहुँच भएको मान्छे नै लगेका छौं । सूचना प्रविधिको क्षेत्रमा हामीले हाम्रो पहुँच देखाएका छौं । मान्छेलाई परिचालन गर्ने माथिल्लो तहको मान्छे किन परेन भन्ने जनताको प्रश्न छ तर बलिको बोको त कर्मचारी मात्र हुने अवस्था छ तर माथिल्लो तहको मान्छे संग्लन छ कि छैन भनेर बयान दिने मान्छेले प्रमाण सहित भन्नुपर्छ । तर कोहि को बाट परिचालन भएको भनेर नाम लिनै चाहन्न म आफै सबै व्यहोर्छु भन्ने छन् । त्यसले गर्दा भ्रष्टाचारको जरो उखेल्न नसकेको हो ।’ 

उनले अनुगमन गर्ने निकाय धेरै हुँदा पनि काममा नकारात्मक प्रभाव परी ढिला-सुस्ती भएको बताए । ‘अनुगमन गर्ने निकाय धेरै भएको जस्तो छ । सबै जना अनुगमन गर्ने तर काम चै खासै नभएको देखिन्छ । मेलम्ची अनुगमन गर्न कति जान्छन् ? कसको अधिकार कति हो ? मेरो अधिकार कति हो भनेर कसैले बुझेन । त्यसले पनि काममा ढिलासुस्ती भएको छ,’उनले भने । 

उनले सिङ्गापुर अमेरिका लगायतको देशबाट भ्रष्टाचारको पैसा ल्याउन नसकेको बताए । उनले सरकारले वाइलाइटर एग्रिमेन्ट नगरेकाले भ्रष्टाचारको पैसा ल्याउन नसकेको भन्दै सिङ्गापुरले एग्रिमेन्ट गरी पैसा लैजान भनेको पनि जानकारी दिए । आज बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौंतीसौं वार्षिक प्रतिवेदन आ.व. २०८०/८१ माथि छलफल गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update