Harsamaya
राम–सीताको नगरी जोडियो रेलमार्गबाट, शाह र मोदीले गरे उद्घाटन
प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।

नयाँ दिल्ली - प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन्।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले सोमबार भर्चुअल माध्यमबाट झण्डा फहराएर रेल सेवाको उद्घाटन गरेका हुन्।

नयाँ रेल सेवाबाट भारतको अयोध्या र नेपालको जनकपुरधामबीच धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै दुई देशबीचको सीमापार आवागमन सहज हुने अपेक्षा गरिएको छ।

अयोध्यादेखि जनकपुरधामसम्म करिब ६०४ किलोमिटर दूरी रेलमार्फत लगभग १९ घण्टामा पूरा हुनेछ। उत्तर प्रदेश र बिहारका विभिन्न सहर हुँदै सञ्चालन हुने रेललाई ‘जनकपुरधाम–अयोध्या क्यान्ट एक्सप्रेस’ नाम दिइएको छ।

भारतको बिहारस्थित जयनगर रेल्वे स्टेसन हुँदै नेपाल प्रवेश गर्ने रेलले जनकपुरधाम, जयनगर, मधुबनी, सिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर, अयोध्या धाम र अयोध्या क्यान्ट स्टेसनमा यात्रु चढाउने तथा ओराल्नेछ।

रेल सेवा सातामा एक दिन दुवैतर्फ सञ्चालन हुनेछ। जनकपुरधामबाट अयोध्या क्यान्ट जाने रेलको नम्बर १५५९५ र अयोध्या क्यान्टबाट जनकपुरधाम आउने रेलको नम्बर १५५९६ निर्धारण गरिएको छ।

निर्धारित तालिकाअनुसार जनकपुरधामबाट अयोध्या जाने रेल शनिबार दिउँसो १ः१० बजे प्रस्थान गरी आइतबार बिहान अयोध्या क्यान्ट पुग्नेछ। त्यसैगरी, अयोध्या क्यान्टबाट सोमबार साँझ ५ः५० बजे छुट्ने रेल मंगलबार दिउँसो १२ः४० बजे जनकपुरधाम आइपुग्नेछ।

नेपालका रेल स्टेसनमा तोकिएको समय भारतीय समयभन्दा १५ मिनेट अगाडि हुने भएकाले यात्रुले स्थानीय समयअनुसार तालिका हेर्नुपर्नेछ।

भगवान् रामको जन्मस्थल अयोध्या र माता सीताको जन्मस्थल जनकपुरधामबीच सीधा रेल सेवा सुरु भएपछि धार्मिक पर्यटकलाई विशेष सुविधा पुग्ने विश्वास गरिएको छ। यसबाट धार्मिक यात्रामा जाने नागरिक, आफन्त भेटघाटका लागि यात्रा गर्ने व्यक्ति, विद्यार्थी तथा व्यवसायी लाभान्वित हुने अपेक्षा गरिएको छ। पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

यसअघि भारतबाट रेलमार्फत जनकपुरधाम आउने यात्रुले बिहारको जयनगर पुगेर सीमासम्बन्धी प्रक्रिया पूरा गरेपछि नेपालतर्फको रेल परिवर्तन गर्नुपर्ने व्यवस्था थियो। नयाँ सेवाबाट आवश्यक सीमासम्बन्धी जाँच पूरा गरेपछि एउटै रेलमा यात्रा जारी राख्न सकिने सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update