Harsamaya
अस्ट्रेलियामा कांग्रेस देउवा पक्षको पनि महाधिवेशन, ५३ सदस्यीय समिति गठन
कांग्रेसको शेरबहादुर देउवा पक्ष ।

अस्ट्रेलिया - नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षको प्रभाव अस्ट्रेलियास्थित प्रवासी संगठनमा पनि देखिएको छ । कांग्रेसको शेरबहादुर देउवा पक्षले नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ महाधिवेशनको तयारी अघि बढाउँदै सुदीप मुडभरी (साइमन) को संयोजकत्वमा ५३ सदस्यीय तयारी समिति गठन गरेको छ ।

यसअघि नेपाली कांग्रेसका नेता गगन थापा पक्षले पनि अस्ट्रेलियामा छुट्टै महाधिवेशन तयारी समिति गठन गरिसकेको छ । दुवै पक्षबाट छुट्टाछुट्टै तयारी अघि बढेसँगै अस्ट्रेलियास्थित नेपाली कांग्रेससम्बद्ध संगठनमा नेतृत्व र प्रतिनिधित्वको विषय थप चासोको विषय बनेको छ ।

नेपाली कांग्रेस पार्टीले मुडभरीलाई नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको संयोजकको जिम्मेवारी प्रदान गरेपछि पाँचौँ महाधिवेशन सम्पन्न गर्ने उद्देश्यसहित तयारी समिति गठन गरिएको २० नोभेम्बरमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गठित समितिको संयोजकमा सुदीप मुडभरी (साइमन), उपसंयोजकहरूमा निराजन खड्का (साउथ अस्ट्रेलिया), दीपेन्द्र राज हमाल (भिक्टोरिया), भूपेन्द्रराज कँडेल (न्यू साउथ वेल्स) तथा सदस्य सचिवमा विनोद उप्रेती (अस्ट्रेलियन क्यापिटल टेरिटोरी) रहेका छन् ।

समितिमा अस्ट्रेलियाका विभिन्न राज्य तथा टेरिटोरीबाट नेपाली कांग्रेसप्रति आस्थावान् व्यक्तिहरूलाई सदस्यका रूपमा समेटिएको जनाइएको छ ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै संयोजक मुडभरीले नेपाली जनसम्पर्क समिति अस्ट्रेलियालाई सबैको साझा र एकताबद्ध संस्था बनाउनु आफ्नो प्राथमिकता रहेको बताए । विगतमा विभिन्न कारणले संगठनबाट टाढिएका तथा निष्क्रिय रहेका साथीहरूलाई समेत सम्मानपूर्वक समेटेर अघि बढ्ने उनको भनाइ छ ।

उनले नेपाली कांग्रेसको ऐतिहासिक विरासत, लोकतान्त्रिक मूल्य–मान्यता र संगठनात्मक आदर्शलाई आत्मसात् गर्दै अस्ट्रेलियामा रहेका सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने उद्देश्य रहेको बताए ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update