Harsamaya
‘हामीले माग्ने मात्रै होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ’ : सांसद लामिछाने [भिडियोसहित]
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युत लामिछाने ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युत लामिछानेले सांसदहरूको भूमिका आफ्नो निर्वाचन क्षेत्रमा विकास बजेट र योजना माग्नेमात्र नभई मुलुकको राष्ट्रिय ढुकुटी बलियो बनाउने नीति निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले सांसदहरू पटक–पटक प्रधानमन्त्री र मन्त्रीकहाँ आफ्नो क्षेत्रका लागि बजेट, विकास तथा योजना माग्न पुग्ने गरेको उल्लेख गर्दै बजेट आउने स्रोतबारे पनि सोच्नुपर्ने बताए।

‘हामीले माग्ने त्यो बजेट आउने ढुकुटी कसरी भरिन्छ? हामीले भकारी रित्तो राखेर त्यसैबाट अन्न मागिरह्यौँ भने एकदिन भकारी रित्तिन्छ,’ उनले भने।

उनले आगामी हिउँदे अधिवेशनलाई केवल विधेयक पारित गर्ने अधिवेशनका रूपमा सीमित नगरी उत्पादन वृद्धि, रोजगारी सिर्जना, लगानी आकर्षण, निर्यात विस्तार र राज्यको राजस्व बढाउने नीति निर्माणमा केन्द्रित गर्नुपर्ने बताए।

लामिछानेले निर्वाचन क्षेत्रमा एउटा योजना ल्याउँदा सीमित मानिस लाभान्वित भए पनि अर्थतन्त्र बलियो बनाउने नीति बनाउन सके त्यसबाट सिंगो देशका पुस्ता लाभान्वित हुने धारणा राखे।

‘हामी केवल राज्यको ढुकुटीबाट माग्ने प्रतिनिधि होइनौँ, त्यो ढुकुटी भर्ने नीति बनाउने जिम्मेवार प्रतिनिधि पनि हौँ,’ उनले भने, ‘अबको हिउँदे अधिवेशनमा हाम्रो प्राथमिकता यही हुनुपर्छ।’

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update