Harsamaya
फ्लाई दुबईको बोइङलाई पानीको फोहराले स्वागत गरेपछि !
फ्लाई दुबईको जहाजलाई स्वागत गर्दै ।

गण्डकी - सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले झन्डै तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान पाएको छ। फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई नियमित उडान सुरु गरेसँगै विमानस्थल सञ्चालनको औचित्य र लामो समयदेखि उठ्दै आएको प्रश्नमाथि फेरि बहस सुरु भएको छ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स जहाज साँझ ६ः१९ बजे ११३ यात्रुसहित पोखरा अवतरण गरेको हो। विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको थियो।

यात्रुको स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित सरकारी अधिकारी तथा पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि विमानस्थल पुगेका थिए। नियमित तालिकाअनुसार सोही जहाज साँझ ७ः१५ बजे १५३ यात्रु लिएर दुबई फर्किने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । 

तर, एउटा वायुसेवा कम्पनीको नियमित उडान सुरु हुँदैमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले लामो समयदेखि भोग्दै आएको चुनौती समाधान भएको मान्न सकिने अवस्था छैन। सञ्चालनमा आएको करिब तीन वर्षसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्नु आफैँमा विमानस्थलको उपयोग र व्यवस्थापनमाथि गम्भीर प्रश्न हो।

यसअघि पनि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेका थिए। तर ती उडान नियमित हुन सकेनन्। यही पृष्ठभूमिमा फ्लाई दुबईको उडानलाई विमानस्थलका अधिकारीले नयाँ आशाका रूपमा व्याख्या गरेका छन्।

फ्लाई दुबईको नियमित उडानले पोखराबाट दुबई हुँदै युरोप, अमेरिका तथा अन्य मुलुकमा जाने यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ। दुबई विश्वव्यापी हवाई ट्रान्जिट केन्द्र भएकाले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्न यो उडान महत्वपूर्ण हुने अधिकारीहरूको भनाइ छ।

त्यसैगरी, पोखरालाई विदेशी पर्यटकले सिधै पहुँच गर्न सक्ने र वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जाने यात्रुलाई समेत सुविधा पुग्ने दाबी गरिएको छ।

तर प्रश्न यतिमै सकिँदैन—पोखरा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान टिकाउन सकिन्छ कि सकिँदैन? यसअघि सुरु भएका अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको अनुभवले नयाँ सेवाको निरन्तरतामाथि स्वाभाविक चासो जन्माएको छ।

सरकारले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न विमानस्थलका विभिन्न शुल्कमा छुटसमेत दिएको छ। विसं २०८५ भदौ मसान्तसम्म पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्णरूपमा छुट तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ। अर्थात् अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न राज्यले आर्थिक सहुलियतसमेत दिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाई दुबईलाई दुबई–पोखरा–दुबई उडानका लागि अनुमति दिएको थियो।

फ्लाई दुबईको तालिकाअनुसार जहाज हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे दुबईका लागि उड्नेछ। फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत सेवा सञ्चालन हुने भएकाले पोखराबाट अष्ट्रेलिया, युरोप तथा अमेरिकाका विभिन्न सहरसम्म एउटै टिकटबाट यात्रा गर्न सकिने बताइएको छ।

अब मुख्य चुनौती विमानस्थलमा जहाज उतार्नु मात्र होइन, उडानलाई नियमित, यात्रुमैत्री र दीर्घकालीन बनाउनु हो। तीन वर्षसम्म अन्तर्राष्ट्रिय उडानको अभाव झेलेको पोखरा विमानस्थलका लागि फ्लाई दुबईको पहिलो उडान सुरुवात हो कि फेरि अर्को छोटो प्रयोग, यसको जवाफ आगामी दिनको नियमितताले दिनेछ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update