काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर वडा अधिवेशन चलिरहँदा रसुवा, नुवाकोट र धादिङमा भने वडा अधिवेशन हुन सकेको छैन।
केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशनको दोस्रो दिनसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन तथा निर्वाचन प्रक्रिया सम्पन्न भएको छ। तर रसुवा, नुवाकोट र धादिङमा भने वडा अधिवेशन हुन बाँकी रहेको हो।
यी तीन जिल्लासहित सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र परासी क्षेत्र नं. २ मा पनि अधिवेशन प्रक्रिया सम्पन्न हुन सकेको छैन।
केन्द्रीय निर्वाचन समितिले आज सम्पन्न हुन छुटेका सम्पूर्ण वडा अधिवेशन असोज ५ गते सोमबार पनि निरन्तर जारी रहने जनाएको छ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने कार्यतालिका छ। वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने प्रक्रिया अघि बढिरहेको छ।

