काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै ह्वाट्सएप समूहमा सार्वजनिक भएपछि सुरु भएको अनुसन्धान २४ घण्टाभित्रै मुख्य आरोपितसम्म पुगेको छ।
साउन ८ गते परीक्षा सञ्चालन भइरहेका बेला एक हजारभन्दा बढी सदस्य रहेको ‘MBS 1st Sem Section CÚ’ नामक ह्वाट्सएप समूहमा प्रश्नपत्रको पीडीएफ सार्वजनिक गरिएको थियो। प्रश्नपत्र पोस्ट भएपछि त्यसै समूहमा उत्तर माग्ने र समाधान उपलब्ध गराइदिने विषयमा समेत संवाद भएको देखिएको थियो।
यही साउन ८ गते परीक्षा सुरु भएको केही मिनेटभित्रै ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र छ्यापछ्याप्ती भयो । ग्रुपमा ‘सुलब सर’ नाम गरेका व्यक्तिले प्रश्नपत्र पठाउँदै ‘इको (अर्थशास्त्र) को पनि दिन्छु, राम्रोसँग हेर्नुहोला’ भन्दै विद्यार्थीलाई विश्वस्त पारिरहेका थिए । परीक्षा चलिरहेकै समयमा मोबाइलको प्रयोग र प्रविधिको दुरुपयोग गरी सङ्गठित रूपमा प्रश्नपत्र ‘लिक’ गराउने गिरोह सक्रिय रहेको पुष्टि भएपछि चौतर्फी आक्रोश उत्पन्न भयो ।
घटनापछि प्रहरीले साइबर प्रविधिको प्रयोग गर्दै ह्वाट्सएप समूह, डिजिटल फुटप्रिन्ट र अन्य प्राविधिक प्रमाणको विश्लेषण थालेको थियो। अनुसन्धानकै क्रममा प्रश्नपत्र सार्वजनिक गरेको आरोप लागेका मुख्य व्यक्तिसहित दुई जनालाई २४ घण्टाभित्र पक्राउ गरिएको छ।
घटनापछि त्रिभुवन विश्वविद्यालयले पनि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले प्रश्नपत्र कसरी बाहिरियो, परीक्षा सुरक्षामा कहाँ कमजोरी रह्यो र भविष्यमा यस्ता घटना दोहोरिन नदिन के गर्नुपर्छ भन्ने विषयमा अध्ययन गर्नेछ।

