Harsamaya

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेका छन्।

रामेछापको दोरम्बा गाउँपालिका–१ का २७ वर्षीय विशाल तामाङले मंगलबार शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार तामाङको साथबाट पेट्रोल बरामद गरिएको थियो। उनलाई शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण तथा काउन्सेलिङ गराएपछि रिहा गरिएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बालाजुको एक बेकरी उद्योगमा कार्यरत तामाङ जोरपाटीमा बस्दै आएका थिए। उनले जोरपाटीस्थित लामा पम्पबाट पेट्रोल खरिद गरेर शितलनिवास पुगेका थिए।

प्रहरीसँगको बयानमा तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पाँच पटकसम्म भेट्ने प्रयास गरे पनि सफल हुन नसकेपछि निराश भएर आत्मदाहको प्रयास गरेको बताएका छन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update