Harsamaya

काठमाडौँ - कवि केशव निमेषको नवीन कवितासङ्ग्रह 'मृत्युगञ्जको मौनता' सार्वजनिक गरिएको छ । शिखा बुक्सद्वारा प्रकाशित उक्त कृतिको शनिबार काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच साहित्य, राजनीति र सामाजिक क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा विमोचन गरिएको हो ।

विमोचन कार्यक्रममा वक्ताहरूले निमेषको कवितासङ्ग्रहले समकालीन नेपाली समाजको विचलन, सीमान्तकृत समुदायको आवाज र सत्ताको उदासीनतालाई सशक्त ढङ्गले उजागर गरेको टिप्पणी गरे।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति भूपाल राईले 'मृत्युगञ्जको मौनता' समकालीन नेपाली समाजका अन्तर्विरोध, मानवीय संवेदना र समयको गहिरो बेचैनीलाई कवितामार्फत सशक्त ढङ्गले अभिव्यक्त गर्ने कृति भएको बताए । उनले केशव निमेषका कविताले युगीन चेतना, प्रतिरोध र मानवीय मूल्यलाई कलात्मक रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै यो सङ्ग्रह समकालीन नेपाली कवितामा अर्थपूर्ण योगदान हुने विश्वास व्यक्त गरे ।

सामाजिक अभियन्ता तथा कवि अस्मिता वादीले कवितासङ्ग्रहले समाजमा दबिएका आवाज, मौन बनाइएका जीवन र सीमान्तकृत समुदायका अनुभूतिलाई संवेदनशील रूपमा अभिव्यक्त गरेको बताइन् । उनले साहित्य केवल सौन्दर्यबोधको विषय नभई सामाजिक रूपान्तरणको माध्यम पनि भएको उल्लेख गर्दै निमेषका कविताले पाठकलाई सोच्न र समाजलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्ने धारणा राखिन्।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद सुरेश कुमार चौधरी, खड्गबहादुर बुढा र रमेश मल्लले कवितासङ्ग्रहमाथि शुभकामना तथा समीक्षा प्रस्तुत गरेका थिए । 

प्रतिनिधिसभाका सांसद सुखड्गबहादुर बुढाले काठमाडौँ केन्द्रित मानसिकताले दूरदराजका आवाज र जनजीविकाका सवाललाई उपेक्षा गरेको आरोप लगाएका छन् । कार्यक्रममा बोल्दै उनले भने, "लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका दूरदराजका आवाजहरूलाई काठमाडौँमा स्थापित गर्न अत्यन्तै गाह्रो छ, काठमाडौँले हामीलाई टेर्दैन र हाम्रा सवालहरू चिन्दैन।" राजनीतिले मात्रै समाजलाई गति दिन नसक्ने र नेताका कुरा सुन्न जनता तयार नभएको उल्लेख गर्दै उनले थपे, "अहिले नागरिकहरू राजनीतिका कुरा सुन्नुभन्दा समाजको वास्तविक धरातल बोक्ने कवि, गीतकार वा सङ्गीतकारका कला र सिर्जनाहरू सुन्न बढी आतुर छन्।"

नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधिसभाका सांसद रमेश मल्लले सिंहदरबारको उदासीनता र सत्ताको विभेदकारी चरित्रमाथि कडा आक्रोश पोखेका छन् । मधेश, कर्णाली र आम उत्पीडित जनताको जीवन सङ्कटमा पर्दा समेत सिंहदरबार मौन बसेको आरोप लगाउँदै उनले भने, "बाढीले झुपडी बगाउँदा र आगोले सपना जलाउँदा पनि सिंहदरबारले एउटा मौनताको फाइल पल्टाएर चुपचाप छाप लगाएर बसेको छ।" कवि केशव निमेषको कविता सङ्ग्रहको प्रशंसा गर्दै उनले थपे, "सत्ता र शासनको यन्त्र प्रयोग गरेर गरिबहरूमाथि जुन प्रकारको प्रताडना र नाङ्गो चरित्र सडकमा देखिएको छ, त्यसका विरुद्ध अब स्रष्टा र जनता मिलेर प्रतिरोध बोल्नुपर्ने स्थिति आएको छ।"

त्यस्तै प्रतिनिधिसभाका सांसद सुरेशकुमार चौधरीले वर्तमान राजनीतिक उपलब्धिलाई थप प्रभावकारी बनाउनुपर्ने र समाजको वर्गीय द्वन्द्वलाई कलाको माध्यमबाट सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। एक साहित्यिक समारोहमा बोल्दै उनले भने, "नेपालको राजनीतिक इतिहासमा पद, प्रतिष्ठा र शक्तिका आधारमा गरिएका धेरै कुराहरू संघर्ष र युद्धबाट मात्र नभई कलमको माध्यमबाट पनि जनतालाई सुसूचित गराउन सकिन्छ।" समाजमा थारु समुदायको 'बड्कीमार' जस्ता सांस्कृतिक धरोहरको आफ्नै महत्व रहेको चर्चा गर्दै उनले थपे, "राजनीतिक परिवर्तनहरू भए पनि वर्गीय मुक्तिको सवालमा हामीले सोचेजस्तो उपलब्धि पाउन सकेका छैनौँ, त्यसैले अब कोमल र सरल शब्दका माध्यमबाट नेपाली जनताको जीवन र चेतनालाई बदल्ने खालका सिर्जनाहरू निरन्तर आउनुपर्छ।"

उनीहरूले साहित्यले समाजलाई मानवीय, संवेदनशील र लोकतान्त्रिक चेतनातर्फ डोर्‍याउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै 'मृत्युगञ्जको मौनता' ले समकालीन नेपाली समाजका यथार्थलाई प्रभावकारी ढङ्गले उजागर गरेको धारणा व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा कवि केशव निमेषले आफ्नो लेखन यात्राका अनुभव साझा गर्दै कविता आफ्नो समय, समाज र मानिससँगको निरन्तर संवाद भएको बताए। उनले 'मृत्युगञ्जको मौनता' आफ्ना व्यक्तिगत अनुभूति मात्र नभई समाजका असङ्ख्य आवाजहरूको प्रतिनिधित्व गर्ने प्रयास भएको उल्लेख गरे । कार्यक्रममा उपस्थित सबैप्रति आभार व्यक्त गर्दै उनले पाठकको प्रतिक्रियाले आफ्नो आगामी सिर्जनालाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।

तस्वीरहरु :-

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  ०९:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update