काठमाडौं - नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले मुगु जिल्लाको सोरु गाउँपालिका–१ निवासी स्वर्गीय गणेश नेपालीको परिवारप्रति समवेदना व्यक्त गर्दै आर्थिक तथा शैक्षिक सहयोगको घोषणा गरेका छन् ।
बस्नेतले शोकसन्तप्त परिवारलाई रु. १ लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । साथै, मृतककी छोरी प्रतिमा नेपालीलाई स्नातक तहसम्म निःशुल्क अध्ययनको व्यवस्था गरिदिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
उनको यो घोषणा मानवीय संवेदनशीलता, सामाजिक उत्तरदायित्व तथा विपद् र संकटमा परेका नागरिकप्रतिको सहानुभूतिको उदाहरणका रूपमा हेरिएको छ।
बस्नेतले यसअघि पनि बाढीपहिरो, भूकम्प, कोरोना महामारीलगायत विभिन्न विपद्बाट प्रभावित सयौं परिवारलाई आर्थिक सहयोग, रोजगारीको अवसर तथा बालबालिकाको शिक्षाको व्यवस्था मिलाउँदै आएका थिए ।
त्यस्तै, संसद् भवनअगाडि आत्मदाह गरेका प्रेम आचार्यको निधनपछि पनि उनले आचार्यकी श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउनुका साथै छोरीहरूको निःशुल्क शिक्षाको जिम्मेवारी लिने घोषणा गरेका थिए।
विपद्, दुःख र संकटको घडीमा निरन्तर सहयोग गर्दै आएको बस्नेतको पछिल्लो घोषणा पनि सामाजिक उत्तरदायित्वप्रतिको उनको प्रतिबद्धताको अर्को उदाहरणका रूपमा हेरिएको छ।

