काठमाडौं - नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रञ्जित कर्णले सङ्घीयताका आधारभूत पिलरहरू भत्काउन खोजे देश अर्को दुर्घटनामा फस्ने बताएका छन् ।
सोमबार बसेको राष्ट्रियसभा बैठकमा कर्णले अधिकार स्पष्ट नगरेका कारण संघीय संरचनाले राम्रो काम गर्न नसकेको भन्दै यसलाई देखाएर सङ्घीयताका आधारभूत पिलरहरू भत्काउन खोजे देश अर्को दुर्घटनामा फस्ने बताएका हुन् ।
लोकप्रियतावादको नाममा राजनीति गर्नेहरुले प्रदेश खर्चिलो भयो भन्दै प्रचार गरेको भन्दै उहाले प्रदेश सरकारमा कमजोरी भए सुधार गर्न सकिने बताए । अहिले वास्तविक समस्या सङ्घीयतामा नभइ सङ्घीयताको अपूर्णता कारण समस्या भएको उनको भनाइ छ । उहाले संघ र प्रदेशलाई दोष देखाउने काम राजनीतिक कपट मात्रै भएको तर्क गरे ।
कर्णले वर्तमान सरकारकै घटकले अहिले निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेन्डा उठाएर सङ्घीयताको मूलभूत आधारलाई नै परिवर्तन गर्ने खतरनाक खेल खेलिरहेको आरोप लगाए ।
उनले कुनै पनि नाममा जनतालाई आफ्नो अधिकार रक्षाको लागि फेरि सडकमा उत्रनुपर्ने अवस्था आउन दिन नहुने धारणा राखे । त्यस्तै कर्णले सरकार सुशासनको सवालमा पूर्णरूपमा असफल भएको समेत बताए ।

