काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया भारत निर्यातमा देखिएको अवरोध हटाउन भारतीय पक्षसँग कूटनीतिक पहल भइरहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्वको टोलीले बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री खनाललाई भेटी भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया उद्योगले भोगिरहेको समस्याबारे ध्यानाकर्षण गराउँदै समाधानका लागि पहल गर्न आग्रह गरेको थियो।
भेटका क्रममा मन्त्री खनालले चिया निर्यातमा देखिएको समस्याप्रति सरकार गम्भीर रहेको र भारतीय अधिकारीहरूसँग छलफल अघि बढिसकेको जानकारी दिए। ‘चियाको निर्यातमा देखिएका समस्या समाधानका लागि हामीले भारतीय पक्षसँग संवाद गरिरहेका छौँ। कूटनीतिक तहबाट ठोस पहल भइरहेको छ र भारतीय पक्षबाट प्राप्त जानकारीअनुसार यसको छिट्टै समाधान निस्किने अपेक्षा गरेका छौँ,’ उनले भने।
मन्त्री खनालले चियालगायत अन्य नेपाली वस्तुको निर्यातमा बेला–बेलामा देखिने अवरोधको दीर्घकालीन समाधानका लागि समेत भारतसँग संवाद भइरहेको बताए।
महासङ्घका अध्यक्ष श्रेष्ठले वार्षिक १२ देखि १४ अर्ब रुपैयाँसम्मको कारोबार हुने चिया क्षेत्र संकटमा पर्दा देशको अर्थतन्त्र र लाखौँ नागरिकको जीविकोपार्जन प्रभावित हुने भन्दै समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गरे।
भेटमा सहभागी सांसदद्वय गणेश पराजुली र रहबर अन्सारीले चिया निर्यातमा देखिएको समस्या तत्काल र दीर्घकालीन दुवै दृष्टिकोणबाट समाधान गर्नुपर्नेमा जोड दिएका थिए।

