काठमाडौं - व्यापारीसँगको साझेदारी, सेयर खरिदका लागि प्रयोग भएको रकमको स्रोत र सम्पत्ति विवरणबारे गम्भीर प्रश्न उठेपछि गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त हुने भएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहले गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् ।
गुरुङले आजै दिउँसो ३ बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।
वैशाख ९ गते चौतर्फी दबाबपछि पद त्यागेका गुरुङले करिब २६ दिन मात्रै गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यापारी दीपक भट्टसँग जोडिएको बीमा कम्पनीको सेयर खरिद प्रकरण सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए।
उनले करिब ५० लाख रुपैयाँ सापटी लिएर सेयर किनेको दाबी गरेका थिए, तर त्यसको स्रोत र प्रक्रिया नै सार्वजनिक बहसको विषय बनेको थियो।
विवाद बढेपछि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गर्यो। समितिले अन्ततः गुरुङमाथि लागेको आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै उनको सम्पत्ति र सेयर कारोबारलाई वैध ठहर गरिदियो।
समितिको प्रतिवेदनले सम्पत्ति विवरणमा देखिएका त्रुटिलाई व्यक्तिगत कमजोरी नभई ‘राज्यको कमजोर प्रणाली’ को परिणाम भनेको छ।
राजनीतिक वृत्तमा गुरुङको पुनरागमनलाई ‘कानुनी सफाइ’ भन्दा बढी ‘राजनीतिक पुनर्स्थापना’ का रूपमा हेरिएको छ। किनकि छानबिनको निष्कर्ष सार्वजनिक भएलगत्तै उनी फेरि शक्तिशाली मन्त्रालयको नेतृत्वमा फर्किदैं छन्।
यस घटनाले नेपालमा सार्वजनिक पदमा रहने व्यक्तिहरूको नैतिक उत्तरदायित्व, स्वार्थको द्वन्द्व र छानबिन समितिहरूको विश्वसनीयतामाथि गम्भीर बहस जन्माएको छ। कानुनी रूपमा दोषी नदेखिनु र सार्वजनिक विश्वास पूर्ण रूपमा पुनः प्राप्त गर्नु एउटै कुरा होइन भन्ने प्रश्न भने अझै अनुत्तरित छ।

