काठमाडौं - रास्वपाका सांसद मनिष खनालले सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने क्रममा घटित दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
शनिबार सामाजिक सञ्जालमा लेख्दै खनालले राज्यका लागि हरेक नागरिकको जीवन र आत्मसम्मान सबैभन्दा अमूल्य विषय भएको उल्लेख गर्दै उक्त घटनाले आफू स्तब्ध भएको बताए ।
खनालले ‘विस्थापन होइन, सुरक्षित व्यवस्थापन’को मान्यतालाई प्राथमिकता दिँदै आएको स्मरण गराउँदै बस्ती व्यवस्थापनका क्रममा बालबालिकाको शिक्षा, नागरिकको स्वास्थ्य र परिवारले भोग्नुपर्ने मानसिक तनावप्रति अझ बढी संवेदनशील हुनुपर्ने आवश्यकता औंल्याए।
उनले वर्तमान जिम्मेवारी नागरिकको अटुट विश्वासका कारण सम्भव भएको भन्दै हरेक निर्णय र कार्यान्वयनमा नागरिकको आत्मसम्मानको रक्षा हुनुपर्नेमा जोड दिएका छन्।
सांसद खनालले सुरक्षित बसोबासको लक्ष्य बोकेको सरकारले कार्यान्वयनका क्रममा ‘न्याय गरेर मात्र पुग्दैन, न्याय भएको आभास पनि हुनुपर्छ’ भन्ने मान्यतालाई आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

