काठमाडौं - समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा र वाम एकताको बहसलाई केन्द्रमा राख्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकमा नेताहरूबीच गहन छलफल भइरहेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता जगनाथ खतिवडाले बैठकमा समसामयिक राजनीतिक परिस्थितिदेखि लिएर निर्वाचन समीक्षा, आगामी कार्ययोजना, कार्यदिशा तथा संगठनात्मक एकताको विषयमा गहन छलफल भइरहेको बताएका छन्।
उनका अनुसार बैठक तेस्रो दिनसम्म आइपुग्दा सीमित संख्यामा मात्र सदस्यहरूले धारणा राखेका छन् भने मुख्य रूपमा सुझाव संकलनमा जोड दिइएको छ । उनले पार्टीले यसअघि नै तय गरेका एजेण्डाहरूमा केन्द्रित रहेर छलफल भइरहेको उल्लेख गर्दै आगामी दिनमा थप सदस्यहरूको धारणा सुनेपछि मात्र ठोस निर्णयमा पुगिने बताए।
खतिवडाले विशेषगरी पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको पराजयका कारणबारे गम्भीर समीक्षा भइरहेको बताए। उनले नेपालको भू–राजनीतिक संवेदनशीलता, जटिल राजनीतिक परिस्थिति तथा कम्युनिस्ट आन्दोलनले आगामी दिनमा लिनुपर्ने रणनीतिबारे नेताहरूको ध्यान केन्द्रित रहेको स्पष्ट पारे।
‘मुलतः नेकपाले यसपालीको निर्वाचनमा पराजित हुनुपर्ने कारणहरु नेपालको भू–राजनीतिक संवेदनशीलताको जटिलताको परिस्थिती र नेपाली कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले लिनुपर्ने आगामी बाटोको विषयमा सबैको ध्यान केन्द्रित छ,’ उनले भने ।
यस्तै, बैठकले पार्टी संगठनको व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ। संगठनात्मक एकताको सुदृढीकरण, संरचनागत व्यवस्थापन तथा कार्यकर्ताको भूमिका प्रभावकारी बनाउने विषयमा विभिन्न सुझावहरू संकलन भइरहेको उनले जानकारी दिए।
‘पार्टी संगठनको व्यवस्थापन गर्ने कुरा हाम्रो नियमीत कार्य अन्तर्गतको अनिवार्य काम हो । त्यो कामलाई व्यवस्थापन गर्न थुप्रै सुझाव संकलन गर्ने काम मात्र गरेका छौ । आजसम्म पनि र भोली पनि यही सुझाव केन्द्रित संयोजन समितिका सदस्यहरुको सुझाव संकलन गर्ने विचार कार्यक्रम चल्ने छ अनी मात्र ठोस निर्णय गर्ने दिशा तिर जाने छौ,’ उनले भने ।
यसैबीच, अर्का नेता राजेन्द्र कुमार राईले वाम एकताको विषयमा पार्टीको धारणा स्पष्ट पार्दै विचार मिल्ने शक्तिहरूबीच एकता आवश्यक रहेको बताए । उनले वामपन्थी शक्तिहरूबीच विगतमा सिद्धान्त र व्यवहारगत असमानताका कारण दूरी बढेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न पहल आवश्यक रहेको धारणा राखे।
राईले वाम एकताको पहल अहिलेको संकटका कारण मात्र नभई पहिलेदेखि नै सुरु भएको प्रक्रिया भएको बताए। उनले आगामी दिनमा पनि वाम शक्तिहरूलाई एकताबद्ध बनाउन पार्टीले सक्रिय भूमिका खेल्ने संकेत गरेका छन्।
बैठक अझै केही दिन सञ्चालन हुने र सबै सदस्यहरूको सुझाव संकलनपछि मात्रै पार्टीले ठोस निर्णय सार्वजनिक गर्ने तयारी गरिएको नेकपाले जनाएको छ।

