काठमाडौं - अर्थमन्त्री रामेश्वर खनालले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्दा पर्यटन लगायत अन्य क्षेत्रको विकासको काममा पर्याप्त ध्यान दिन नसकेको बताएका छन् ।
शुक्रबार पर्यटन बोर्ड र परिसूचक मिडियाले ललितपुरमा आयोजना गरेको नेपाल पर्यटन गोष्ठीमा बोल्दै उनले तोकिएको समयमा निर्वाचन गर्न थुप्रै चुनौतीहरु झेल्नु परेको बताउँदै यसैमा सरकारको पूर्ण ध्यान केन्द्रित गर्दा विकासको कुरामा चुकेको स्वीकार गरे ।
यद्यपी पर्यटन क्षेत्रको महत्वलाई कागजमा मात्र सिमित नराखी यस क्षेत्रको नीति ,कार्यक्रम र आयोजनाहरुलाई सम्बोधन गर्नु आवश्यकता औल्याए ।
‘बजेटमा पर्यटन क्षेत्रलाई उद्योगले पाए सरहको सुविधा दिइने छ भनेर उल्लेख गरिएको भए पनि अहिलेसम्म पूरा गर्न सकिएन । यो सरकारको सामु सुरुवातीदेखि नै धेरै चुनौतीहरु थिए । त्यसमध्येको सबैभन्दा ठूलो चुनौती भनेको जुन आशंका आम मानिसमा राजनीतिक वृत्तमा थियो ,कि निर्वाचन कुनै हालतमा संभव छैन । जेलबाट कैदी भागेका छन् । हात हतियार लुटिएका छन् । नव पुस्ताले पुराना सत्ताका नेताहरुलाई देख्न ,वार्ता गर्न चाहदैनन् । यस्तो अवस्थामा सरकारले कसरी निर्वाचन गर्न सक्छ भन्ने आशंकालाई मेटाउने चुनौती थियो । त्यसैले त्यहाँ ध्यान केन्द्रीत गर्ने क्रममा कतिपय चालु आर्थिक वर्षमा प्रतिबद्धता गरिएका पर्यटन लगायत अन्य क्षेत्रको विकासको कुरामा काम गर्न नसकिएको पक्कै हो । तर पर्यटन क्षेत्रको महत्वलाई कागजमा मात्र सिमित नराखेर नीति कार्यक्रम र आयोजनाहरुलाई सम्बोधन गर्ने हो ।’
त्यस्तै उनले वर्तमान सरकारलाई सुम्पिएको जिम्मामा भ्रष्टाचार न्यूनीकरण गर्ने र सुशासन कायम गर्ने रहेको भन्दै उनले यसबीचमा कतिपय सुधारका कामहरु भएको धारणा राखे ।

