काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सदस्य एवम् पूर्वमन्त्री निमा लामाले प्रविधिको आकर्षण र वास्तविक जीवनको संघर्षबीच स्पष्ट भिन्नता रहेको बताएका छन्।
नेपाल तरुण दल सिन्धुपाल्चोक–२ ले राजधानीमा आयोजना गरेको वृहत् तरुण भेलालाई सम्बोधन गर्दै उनले हामी प्रविधिको युगमा बाँचिरहेका बताए ।
उनले भने, ‘हामी प्रविधिको युगमा बाँचिरहेका छौं। संसार हाम्रो हातको मोबाइलभित्र लुकेको छ। गुगलले हामीलाई ज्ञान दिएको छ, सूचना दिएको छ, संसार हेर्ने आँखा दिएको छ। तर प्रश्न उठ्छ के केवल गुगलले मात्र हाम्रो जीवन बदल्न सक्छ ? के केवल इन्टरनेटको रमाइलोले समाज समृद्ध हुन्छ? ’
उनका अनुसार डिजिटल माध्यममा विकास र सफलताका आकर्षक चित्र सजिलै देखिए पनि वास्तविक परिवर्तनका लागि जमिनमा उभिएर श्रम, उत्पादन र जिम्मेवारी वहन गर्न आवश्यक रहेको बताए । ‘गुगल सम्भावना हो, तर भूगोल वास्तविकता हो,’ उनले स्पष्ट पारे।
उनले आज धेरैले डिजिटल माध्यमबाट ठूलो कुरा गर्ने गरे पनि आफ्नो माटो, समाज र कर्तव्यप्रति उत्तरदायी हुन नसकेको आरोप लगाए । ‘जबसम्म हामी आफ्नो भूगोल, आफ्नो गाउँ, उत्पादन, श्रम र आधार—समृद्ध बनाउँदैनौं, तबसम्म गुगलको ज्ञान कागजी सपना मात्र रहन्छ।’
लामाले विकास इन्टरनेटबाट डाउनलोड नहुने बताए । ‘विकास इन्टरनेटबाट डाउनलोड हुँदैन’ उनले भने, ‘विकास खेतमा पसिना बगाएर उब्जिन्छ। समृद्धि भाषणबाट होइन, कामबाट आउँछ।’
उनले प्रविधिलाई दोष दिनुभन्दा त्यसको सही प्रयोगमा जोड दिनुपर्ने बताए। जब हाम्रो माटो बलियो हुन्छ, समाज सक्षम हुन्छ र सोच सकारात्मक हुन्छ त्यसपछि मात्र गुगलको ज्ञानले चमत्कार गर्ने उनको भनाइ थियो ।
उनले पहिले आफ्नो भूगोल बनाउन युवाहरूलाई आव्हान गरे ।

