Harsamaya
आज देशभर महाशिवरात्रि पर्व मनाइँदै
पशुपतिनाथ मन्दिर । तस्विर: हर समय/Har Samaya

काठमाडौं - आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ महाशिवरात्रि पर्व मनाइँदैछ।

महाशिवरात्रि हरेक वर्ष फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइन्छ। यस वर्ष मध्यरातमा चतुर्दशी तिथि परेकाले आइतबार नै पर्व मनाउने निर्णय नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति ले गरेको जनाएको छ । धार्मिक मान्यताअनुसार यसै रात परमब्रह्मले शिवरूप धारण गरेको विश्वास गरिन्छ।

वैदिक सनातन हिन्दू धर्मअनुसार यस दिन व्रत बस्ने, उपवास गर्ने, रातभर जाग्राम बस्ने तथा भगवान् शिवलाई दूध, बेलपत्र, धतुरो अर्पण गर्ने चलन छ। शिव पुराण लगायतका ग्रन्थमा यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रि मानिएको उल्लेख छ।

धार्मिक विश्वासअनुसार यस दिन श्रद्धापूर्वक पूजा गरे यस लोकमा सुख–शान्ति र परलोकमा सद्गति प्राप्त हुने मान्यता छ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान २ बजेदेखि नै चारै ढोका खुला गरिएको छ। विगत वर्षहरूमा जस्तै यस वर्ष पनि लाखौँ भक्तजनको आगमन हुने अनुमान गरिएको छ।

मन्दिर प्रवेशका लागि तीन बाहिरी लाइन तथा भित्री लाइनको विशेष व्यवस्थापन गरिएको छ। सवारी पार्किङको व्यवस्था सिफल, तिलगंगा, गुह्येश्वरीपारि, वनकालीलगायत स्थानमा मिलाइएको छ।

यस वर्ष पनि गाँजा, भाङ, धतुरोलगायत लागूपदार्थ सेवन तथा बेचबिखन निषेध गरिएको छ र उल्लंघन गरेमा कारबाही गरिने जनाइएको छ।

आज गोकर्णेश्वर मन्दिर, डोलेश्वर महादेव मन्दिर लगायत उपत्यका तथा देशभरका शिवालयहरूमा पनि भक्तजनको घुइँचो लागेको छ।

महाशिवरात्रि राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा पनि मनाइन्छ, जसले धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने काम गर्दछ।

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update