काठमाडौं - नेपालमा विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु गरिएको छ । बुधबार हिमालयन गार्डियन नेपालले पत्रकार सम्मेलन गर्दै विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र–आधारित सरकार स्वीकृत बीमा सेवा प्रयोग गर्न सक्ने बताएको हो ।
यस सेवाको उद्घाटन हिमालयन गार्डियन नेपालले नेपाल सरकार, बीमा प्राधिकरण र दूरसञ्चार प्राधिकरणको स्वीकृतिसहित गरेको छ । नेपालमा दशकौँदेखि सगरमाथा क्षेत्र, हिमाली ट्रेकिङ र पर्वतारोहणलाई सुरक्षित बनाउने जिम्मा शेर्पा समुदाय र पेशेवर नेपाली गाइडहरूले सम्भालेका थिए तर पछिल्लो समय हेलिकप्टर उद्धार र चिकित्सा सेवामा ठगी, अनावश्यक खर्च र गलत समन्वय बढेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समस्या उजागर भएको देखिन्छ ।
हिमालयन गार्डियन नेपालका अनुसार पुराना प्रणालीमा बीमा दाबी विदेशी कम्पनीहरू मार्फत भुक्तानी हुने भएकाले नेपाल सरकारले नियन्त्रण गर्न सक्दैन । जसले गर्दा बीमा कम्पनीहरूले नेपालमा बीमा बिक्री कम गर्ने वा उच्च प्रिमियम लगाउने कारण पर्यटकहरूको यात्रा खर्च बढेको थियो ।

