Harsamaya
मन्त्री बन्न लागेकी डा.संगीताको नाम काटिदा तरंग–‘अन्याय मात्र होइन अत्याचार नै भयो’
डा.संगीता कौशल मिश्र, अजय कुमार राई, अमरेशकुमार सिंह र ललित रौनियार ।

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीका रुपमा डा.संगीता कौशल मिश्रको नाम गत आइतबार सिफारिस भएर अन्तिम समयमा सोमबारका दिन काटियो ।

भ्रष्टाचारलगायतका मुद्दा विचाराधीन एवम छानबिनका क्रममा रहेको भनी समाचारहरु आएपछि सुशीला कार्की नेतृत्वको सरकारले उनको हटायो । नाम हटाइएपछि उनको पक्ष र विपक्षमा व्यापक बहस भइरहेको छ ।

यसअघि स्वास्थ्य सचिवका लागि पहिलो वरियतामा डा.मिश्रलाई सिफारिस गरिएपनि तत्कालिन केपी शर्मा ओली सरकारले दोस्रो वरियतामा रहेका डा.विकास देवकोटालाई सचिवमा बढुवा गरेपछि ड.मिश्र आफू अन्यायमा परेको भन्दै ६ महिना विदामा बसेकी थिइन् ।

आफू अन्यायमा परेको सार्वजनिक अभिव्यक्ति दिएकी उनी नेपालका मुलधारका मिडियाको मुख्य समाचार समेत बनेकी थिइन् । तत्कालीन स्वास्थ्यमन्त्री प्रदिप पौडेलबाट धोका भएको भन्दै सार्वजनिक मन्चमा ओली सरकारको कडा आलोचकका रुपमा देखिएकी डा.मिश्रलाई जेनजी आन्दोलनपछि बनेको कार्की नेतृत्वको सरकारले मन्त्रीमा सिफारिस गरेपछि सर्वत्र चासोको विषय बनेको थियो ।

तर भ्रष्टाचारको मुद्दा विचाराधीन रहेको कुरा एकाएक मिडियाहरुले चर्काएपछि कार्कीले उनको नाम राष्ट्रपति समक्ष पठाएर शपथ खुवाउन सकिनन् । मिडिया हुँदै सामाजिक संजालमा आलोचना हुन थालेपछि कार्की ठूलो दबाबमा पर्दा उनको नाम शपथका लागि राष्ट्रपतिसमक्ष पठाउन सकिनन् । जसका कारण डा. मिश्राको नाम अन्तिम समयमा होल्डमा राखेर अन्य चार जनालाई शपथपछि पदभार नै ग्रहण गरिसकेका छन् ।

यौन तथा प्रजनन् स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.मिश्र अतिरिक्त सचिवबाट सोझै मन्त्रीमा सिफारिस हुने संभवत पहिलो महिला हुन् । गत वर्षको फागुनमा डा .देवकोटा सचिवमा बढुवा भएपछि आफू अपमानित भएको र अन्यायमा परेको बन्दै ६ महिना बिदामा बसेर कार्की नेतृत्वको सरकार बनेपछि मन्त्रालय हाजिर भएकी थिइन् । विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई स्वास्थ्य मन्त्रीमा कार्की नेतृत्वको सरकारले प्रस्ताव गर्नेक्रममा डा.मिश्रालाई पनि प्रस्ताव गरिएको हो । 

तत्कालीन स्वास्थ्यमन्त्री प्रदिप पौडेलले कर्नरमा पारेर सचिवमा बढुवा नगरेको भन्दै विशेषगरी तराई मधेश मुलका नेता एवं अभियन्ताहरुले मन्त्री पौडेल र प्रधानमन्त्री ओलीको चर्को आलोचना मात्र गरेनन् ‘मधेशी मुलकी महिला’लाई अपमान गरेको अभिव्यक्ति समेत दिएका थिए । तर मन्त्रीका रुपमा सिफारिस भएलगत्तै भ्रष्टाचारको मुद्दा विचाराधीन रहेको बताइएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आधिकारिक जानकारी दिएको छैन । तर डा.मिश्राको विषयलाई लिएर पक्ष र विपक्षमा बहस भइरहेको छ । कतिपयले सरकारको कडा आलोचना गरेका छन् भने कतिपयले आन्दोलनको स्प्रिट अनुसार नियुक्ति गर्न नसकिने जनाउँदै आएका छन् ।

लेखक एवम विश्लेषक तुलानाराण शाहले डा. मिश्राका पक्षमा खुलेर अभिव्यक्ति दिएका छन् । ‘पहिला अन्याय भयो, अहिले अत्याचार हुँदैछ !’ शिर्षकमा लामो लेख सामाजिक संजालमार्फत व्यक्त गरेका छन् ।

त्यस्तै स्वतन्त्र नेता अमरेश कुमार सिंह, ट्रेड युनियनका नेता अजयकुमार राई, कांग्रेस नेता विमलेन्द्र निधि, ललित रौनियारलगायतले डा.मिश्रामाथि अत्याचार भएको संकेत गरेका छन् ।

‘पहिला अन्याय भयो, अहिले अत्याचार हुँदैछ !’(तुलानाराण शाह) भन्दै शाहले अगाडि लेखेका छन्–केही महिनाअघि ओली सरकारको पालामा स्वास्थ्य मन्त्रालयको सचिव पदमा बढुवाको क्रममा डा.संगीता मिश्रासँग अन्याय भएको थियो । प्रतिस्पर्धीहरुमध्ये सबैभन्दा वरिष्ठ हुँदाहुँदै डा.संगीता विरुद्ध उनकै सहकर्मी कर्मचारीहरु र सत्ता गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेस सम्बद्ध नेताहरुले षडयन्त्र गरेका थिए । त्यसबारे उतिबेलै यथेष्ठ चर्चा भइसकेको छ । त्यस विरुद्ध उनको कानुनी लडाइ जारी नै छ ।

राजनीतिमा पुस्तान्तरण र सरकार संचालनमा सुशासनको नारा दिएर बनेको सुशीला कार्की नेतृत्वको सरकारले फेरि उनै डा.संगीतामाथि अत्याचार गरिराखेको छ । मन्त्रीमण्डलका जिम्मेबार सदस्यले भेट्न बोलाएर, मन्त्री बनिदिनुपर्यो भन्दै आग्रह गरेर, प्रधानमन्त्रीसँग भेट गराएर, हुँदाखाँदाको १२औँ तहको  अतिरिक्त सचिव पदबाट राजीनामा गर्न लगाएर, नयाँ नियुक्त हुने मन्त्रीहरुको सूचीमा उनको नाम राखेर राष्ट्रपति कार्यालय समेत पठाइसकेर, मिडियामा सार्वजानिक गरिसकेर अन्त्यमा उनीमाथि ‘अख्तियारले छानबिन गरिराखेको’ भन्दै शपथ ग्रहण रोकिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update