
काठमाडौं - जेन–जेड–वाई–एक्स उमेर समूहका अगुवाहरुले जेन–जेड–वाई–एक्स नेपाल समिति निर्माण गरेका छन् । यस समितिको संयोजक युवराज सफलले गरेका छन् । आइतबार काठमाडौंको रिपोर्टस क्लबमा एक कार्यक्रम गरी संयोजक सफलले समितिको घोषणा गरेका हुन् ।
आयोजित कार्यक्रममा बोल्दै उनले देशका लागि योगदान गर्न सक्ने तीन पुस्ता जेन–जेड–वाई–एक्स मिले मात्र देशले निकास पाउने बताए । उनले भने, ‘जेन–जेड पुस्ताको मागप्रति मेरो र हाम्रो पुस्ताका प्रतिवद्धता छ । त्यही भएर जेन–जेड पुस्तासहित जेन–जेड–वाई–एक्स भनेर तीनवटै पुस्तालाई समेटेर समृद्ध नेपाल निर्माण गर्न सकिन्छ । जेन–जेड १३ वर्षदेखि २८ वर्षका हुन्छन् । त्यसैले २८ वर्ष भन्दा उता ४५ वर्ष भन्दा यता पनि त छन् ।’
उनले तीनवटै पुस्ता मिलेर मात्र देश बन्न भन्दै थप भने, ‘देशका लागि गर्न खोज्ने मानिस पनि होलान् नि त त्यसैले यो तीनवटै पुस्ता मिलेर मात्र देश बन्न सक्छ । हामी अगाडि बढ्न सक्छौ भन्ने लागेर आज जेन–जेड–वाई–एक्स नेपाल को एउटा केन्द्रिय कमिटि घोषणा गर्न लागेका हौं ।’
उनले ५ देखि ७ सदस्यीय निर्देशक समिति गठन हुने त्यस अनुसार सबैसँग समन्वय र वार्ता गर्ने जानकारी दिए ।
‘आज हाम्रो ५/७ सदस्यीय निर्देशक समिति गठन हुन्छ । निर्देशक समितिले आवश्यक समन्वय गरेर जेन–जेडहरुसँग पनि वार्ता गर्छ । अरु वाई पुस्ता र एक्स पुस्तासँग पनि वार्ता गर्छ । सबैसँग वार्ता र समन्वय गरेर राष्ट्रिय सहमती गरेर मात्र यो देशले निकास पाउँछ,’ उनले बताए ।