
रामेछाप - नेकपा एमाले रामेछापले संविधान रक्षाको लागि र्यालीसहित कार्यकर्ता भेला आयोजना गरेको छ ।
नेकपा एमाले रामेछापको आयोजनामा शुक्रबार मन्थलीमा र्याली तथा अन्तरक्रिया गरिएको हो। राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा सहित प्लेकार्ड बोकेको जुलुसले मन्थली बजार परिक्रमा गरेको थियो ।
त्यसपछि आयोजना गरिएको कार्यकर्ता भेला पार्टी जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षता तथा एमाले पोलिटब्युरो सदस्य एवं जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईँको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा बोल्दै चौलागाईँले हामी नेपाल भन्ने ग्रुपले ह्याण्डिल गरेको प्लेटफर्म मार्फत अमेरिकाले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएको दाबी गरे ।
अमेरिकाले सुनियोजित रूपमा नेपालको शासनसत्ता कब्जा गरेको चौलागाईँले बताए ।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले २३ गते बिहानको आन्दोलन जेनजीको आन्दोलन भएपनि २३ गते अपराह्नपछि आन्दोलन हाइज्याक भएको बताए ।
दुर्गा प्रसाईँले गाडी चढाउँदा समेत गोली नचलाउने प्रहरीले बालबालिकाको टाउकोमा गोली चलाउनै नसक्ने उनको दाबी छ ।
ढुङ्गेलले नेपाली सेना समेत सिंहदरबार, सितलनिबास लगायतका संरचना जोगाउने दायित्वबाट चुकेको बताए । २३ र २४ गतको घटनालाई एमालेले सामान्य ढङ्गले नछाड्ने उनको भनाई छ । यसको हिसाबकिताब एमालेले खोज्ने उनले बताए ।
पार्टी केन्द्रीय सदस्य गीता कार्कीले अहिले पार्टी र देशका लागि निक्कै सङ्कटको अवस्था आएको बताउँदै यो सङ्कटसँग जुध्न सबै एक भएर लाग्नुपर्ने बताइन् ।
कार्यक्रममा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले भदौ २३ र २४ गतेको जेनजीतको आन्दोलनमा नेपालमा अस्थिरता मच्चाउन चाहनेको घुसपैठ भएको बताउँदै सो घटनाको निष्पक्ष छानबिन गर्न माग गरे ।
उनले यस बिचमा भएका सबै घटनाको छानबिन र अनुसन्धान हुनुपर्ने बताउँदै त्यो छानबिन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीबाट नै सुरु गर्न माग गरे ।
कडरियाले राजनीतिक दलका नेताहरु पनि सच्चिनुपर्ने बताउँदै जेनजी आन्दोलनको नाममा युवा र विद्यार्थीलाई भड्काउने काम गरिएको दाबी गरे । विद्यालय पढ्ने बालबालिकालाई विद्यालय पोसाकमा नै जुलुसमा पठाएर दुरुपयोग गरिएको उनको आरोप छ ।
कार्यक्रमका सहभागीलाई स्वागत गर्दै पार्टी जिल्ला कमिटी उपाध्यक्ष होतराज ढकालले भुईँबाट कार्यकर्ताले उठाएका कुरा नेताहरूले केन्द्रीय नेतृत्वसम्म नपु¥याउने र आफ्नो अनकूल मात्र रिपोर्टिङ गर्दा अहिलेको अवस्था आएको भन्दै नेतृत्वलाई सचेत हुन आग्रह गरे ।
भेलाले भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै, पार्टी, राष्ट्र र राष्ट्रियताको पक्षमा एकताबद्ध भएर उभिने प्रतिबद्धता जाहेर गरेको नेकपा एमाले रामेछापका सचव प्रकाशकुमार कार्कीले जानकारी दिए ।