रौतहट - बाराको अमलेखगञ्ज क्षेत्रमा पटक–पटक आक्रमण गरी चार जना ज्यान लिएको बाघलाई नियन्त्रणमा लिइएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित चुरियामाई सामुदायिक वनको आधाभारबाट बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका–२१ का वडाध्यक्ष सुभाष श्रेष्ठ र २२ का वडाध्यक्ष शेखर काजी रुम्बाको सक्रियतामा शुक्रबार बिहान उक्त बाघलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोषबाट खटिएका विज्ञ टिमको सहयोगमा सेना र प्रहरीले ६ वटा हात्तीको सहयोगमा बाघलाई नियन्त्रणमा लिइएको हो । बाघलाई समात्न पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिहरूको संयुक्त टोलीले लामो समयदेखि निरन्तर प्रयास गर्दै आएको थियो।
बाघलाई समात्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूले चुरियामाई सामुदायिक वनको तीन स्थानमा राँगालाई बाँधेर क्यामरा जडान गरिएको थियो । क्यामराले राँगोलाई आक्रमण गरेको फोटो कैद गरेपछि डार्ट गरेर बाघ नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
बाघले जीतपुरसिमरा उपमहानगरपालिका –२१ र २२ मा ३ महिनाको अवधिमा ५ जनालाई आक्रमण गरेको थियो । जसमध्ये चार जनाको मृत्यु भएको थियो भने एकजना सैनिक हवलदार घाइते भएको प्रहरीको तथ्याङमा उल्लेख छ ।
बाघ नियन्त्रणमा आउन नसकेपछि त्रसित बनेका स्थानीयवासी अहिले खुशी भएका छन् । बाघलाई नियन्त्रणमा लिएर निकुञ्जमा लैजाने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्। -दिपेश पौडेल