
सङ्खुवासभा - जेनजीले गरेको प्रदर्शनका क्रममा मृत्यु भएका सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ का २१ वर्षीय प्रवीन कुलुङको अन्त्येष्टि गरिएको छ ।
काठमाडौंमा भएको प्रदर्शनका क्रममा कुलुको गोली लागेर मृत्यु भएको थियो । उहाँको आज दिउँसो सिलिचोङ–३ स्थिल लकुवामा अन्त्येष्टि गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिए ।
नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगरबाट कुलुङको शव आज बिहान सिलिचोङ ल्याइएको थियो । प्रतिकूल मौसमका कारण कुलुङको शव मङ्गलबार ल्याउन नसकिएपछि विराटनगरमै राखिएको थियो ।
कुलुङको सिलिचोङ–३ स्थित लकुवामा संस्कारअनुसार अन्त्येष्टि गरिएको सो गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले बताए । अन्त्येष्टि अघि सिलिचोङ गाउँपालिका केन्द्र ताम्कुमा कुलुङको पार्थिव शरीरमा गाउँपालिका अध्यक्ष मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गरेका थिए ।
त्यसपछि कुलुङको शव यात्रासहित जन्म गाउँ लकुवामा लगेर अन्त्येष्टि गरिएको हो । कुलुङ स्थानीय सगरमाथा माध्यमिक विद्यालयमा १० कक्षा उत्तीर्ण गरे केही वर्षदेखि काठमाडौंमा बस्दै आएका थिए । उनले काठमाडौँमा वैदेशिक रोजगारीमा जानका लागि कोरियन भाषा पढ्दै थिए ।