
कास्की - पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्ने क्रममा जलेका एक जना पुरुषको आज मृत्यु भएको छ । भदौ २४ गते साँझ प्रदर्शनकारीहरूले जिप्रकामा तोडफोड तथा आगजनी गरेका थिए ।
सो घटनामा संलग्न रहेका चितवनको भरतपुर महानगरपालिका-१० स्थायी घर भई हाल पोखरा-१६ मा मजदुरी गरी बस्ने ४३ वर्षीय विजय तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार आगो लगाउने क्रममा आफैँ जलेर घाइते भएका तामाङलाई उनकै साथीले उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेका थिए । पोखरामा जेनजी प्रदर्शनका क्रममा हालसम्म तीन जनाले ज्यान गुमाएका प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए । यसअघि दुई महिलाको प्रदर्शनकारीले आगजनी गर्दा जलेर मृत्यु भएको थियो ।
पोखरा नयाँबजारमा रहेको हिमालय अर्गनाइजेसनको अटोसोरुम र लेकसाइडमा रहेको अंशुभरा स्क्वायरमा एक/एक जना महिलाको जलेर निधन भएको अवस्थामा शव फेला परेको थियो । निज दुवै जना कामदार थिए ।