
काठमाडौं - काठमाडौं महानगरका मेयर बालेन शाहले राजनीतिक संकटको समाधानका लागि तत्काल संसद् विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने स्पष्ट माग गरेका छन् । उनले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा खुलेर समर्थन जनाएका छन् ।
बुधबार राति सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मेयर शाहले भनेका छन्, ‘यो अन्तरिम/चुनावी सरकारको नेतृत्व गर्न तपाईंहरूबाट आएको प्रस्ताव पूर्वप्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईंहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु ।’
उनको भनाइमा अहिलेको परिस्थितिलाई संवेदनशील ढङ्गले सामना गर्दै देशलाई नयाँ चुनावतर्फ अघि बढाउन आवश्यक छ । उनले युवापुस्ताको नेतृत्वप्रतिको आकांक्षा प्रशंसनीय भए पनि तत्कालीन प्राथमिकता भने चुनावमार्फत स्थायी समाधान खोज्नु रहेको उल्लेख गरेका छन् ।
यसअघि जेन–जी समूहले कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउनु पर्ने प्रस्ताव अघि सारेका थिए । तर विभिन्न युवा समूहहरूबीच धरानका मेयर हर्क साम्पाङ र मेयर बालेनकै नाम पनि अगाडि सारिएको छ ।
राष्ट्रपतिलाई प्रत्यक्ष सम्बोधन गर्दै शाहले भनेका छन्, ‘जेनजीले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अबिलम्ब संसद् विघटन र अन्तरिम सरकार गठन गर्नु जरुरी छ ।’
राजनीतिक नेतृत्वमाथि विश्वास हराउँदै गएको यस घडीमा बालेन शाहको यो अभिव्यक्ति आगामी सत्ता संरचना र चुनावी प्रक्रियाप्रति महत्वपूर्ण सन्देशका रूपमा हेरिएको छ ।