
काठमाडौं - नेपाली सेनाले देशको परिस्थिति थप जटिल नबनाउन विशेष अनुरोध गरेको छ। नेपाली सेनाले वक्तव्य जारी गर्दै विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको दायित्व भएकाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको हो।
नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको नेपाली सेनाले जनाएको छ । सेनाले नेपालमा हाल भइरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमहरूबारे नेपाली सेनाले विश्लेषण गरिरहेको उल्लेख गरेको छ।
सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रहिआएको उल्लेख गर्दै युवाहरुलाई संयमित रहन आग्रह गरेको छ ।