Harsamaya
कांग्रेससँग सरकारमा बसिरहने नैतिकता छैन् : डिला सङ्ग्रौला
नेपाली काँग्रेसकी नेता एवं पेसागत र बुद्धिजीवी विभागकी प्रमुख डा.डिला सङ्ग्रौला पन्त।

काठमाडौं - नेपाली काँग्रेसकी नेता एवं पेसागत र बुद्धिजीवी विभागकी प्रमुख डा. डिला सङ्ग्रौला पन्तले नेपालको युवा पुस्ता, विशेष गरी जेन–जीले भ्रष्टाचार, बेथिति, नातावाद र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीद्वारा गरिएको दमनको घोर भत्र्सना गरेकी छिन् ।

डा.सङ्ग्रौलाले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिन् । साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग पनि गरिन् । ‘यति धेरै जनधनको क्षति दुखद र अक्षम्य छ’ विज्ञप्तिमा उल्लेख छ।

उनले काठमाडौँको नयाँ बानेश्वर, दमक, पोखरा लगायतका स्थानमा भएका प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको र यसले मानवअधिकारको गम्भीर उल्लङ्घन गरेको बताउँदै प्रहरीको आवश्यकताभन्दा बढी बल प्रयोगले शान्तिपूर्ण आन्दोलन हिंसात्मक बन्न पुगेको छ, जुन अत्यन्त दुखद भएको टिप्पणी गरिन् ।

काठमाडौँ लगायतका देशमा विभिन्न भागमा कफ्र्यु घोषणा गरिएको र कम्तीमा १९ जनाको ज्यान गएको खबरले नेपाली काँग्रेस र आफूलाई गहिरो पीडा भएको उल्लेख गरेकि छिन् ।

सङ्ग्रौलाले सरकारसँग प्रदर्शनकारीमाथिको दमन तत्काल रोक्न, घाइतेहरूको उपचारको उचित व्यवस्था गर्न र घटनाको निष्पक्ष छानबिन गर्न माग गरिन् । ‘युवाहरूको आवाजलाई दबाउनु भनेको नेपालको भविष्यलाई दबाउनु हो,’ उनले जोड दिएकी छिन् ।

नेपाली काँग्रेसले सरकारमा बसिरहने नैतिक आधार गुमाएको भन्दै डा.सङ्ग्रौलाले पार्टीले यो विषयमा तत्काल समीक्षा गर्नुपर्ने बताइन्। ‘युवाहरूले वैचारिक जागरण, भ्रष्टाचारको अन्त्य र डिजिटल अधिकारको माग गर्दै गरेको आन्दोलनलाई हिंसात्मक बनाउनु सरकारको असफलता हो,’ उनले विज्ञप्तिमा उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update