
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री प्रदीप पौडेलबीच मन्त्रिपरिषद् बैठकमा विवाद भएको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुई मन्त्रीबिच नोकझोक भएको हो।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार बन्द भएको सामाजिक सञ्जाल खोल्ने विषयमा प्रम ओली र मन्त्री पौडेलबिच नोकझोक भएको थियो। ‘मन्त्री पौडेल सञ्जाल खोल्नुपर्ने तथा प्रधानमन्त्रीज्यू कुनै कम्पनीको अगाडि झुक्न सकिन्न भन्ने विषयमा भनाभनको स्थिति सिर्जना भएको हो‚’ ती मन्त्रीले भने।
बैठकको सुरूवातमै मन्त्री पौडेलले सामाजिक सञ्जाल खुल्ला गर्नुपर्ने धारणा राखेका थिए। उनले सामाजिक सञ्जाल बन्द गरेकै कारण आन्दोलन भएको र ठूलोजनधनको क्षति भएको तर्फ प्रम ओलीको ध्यानाकर्षण गराएका थिए।
‘सरकारले आफ्नो त्रुटी स्वीकार गर्दै जेनजीको मागलाई सम्बोधन गर्नुपर्छ‚’ पौडेलले बैठकमा भनेका थिए। आफ्नो अभिव्यक्ति राख्ने क्रममा मन्त्री पौडेलले भ्रष्टचार नियन्त्रणको माग पनि सम्बोधन गरिनुपर्ने धारणा राखेका थिए।
‘सामाजिक सञ्जाल सधै बन्द गरिने कुरा होइन । अहिले पनि खुलिरहेकै छ‚’ उनले भनेका थिए‚‘यसलाई अस्थायी रूपमा खोलौँ । रजिस्टर गराउनका लागि कुटनीतिक पहल गरौँ।’
त्यसपश्चात् प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरले पठाएको पत्र बारे कुरा उठाए । ट्वीटरले नेपाल जस्तो भ्रष्ट देशमा दर्ता गर्न सकिदैंन भन्ने पत्र लेखेको भन्दै प्रम ओलीले राष्ट्रिय स्वभिमानको कुरा उठाएका थिए। ओलीले एउटा कर्पोरेट कम्पनी कुनै देशमा दर्ता नभइ चल्न सक्छ भन्ने प्रश्न उठाउँदै भनेका थिए‚‘दर्ता गर्न आउन भन्दा तिमी भ्रष्ट हौँ । तिम्रोमा व्यापार गर्न मिल्छ?’
त्यसपश्चात् पौडेलले प्रमको कुरा ठिक भए पनि नागरिकले नबुझ्ने बताएका थिए। जवाफमा प्रम ओलीले भने‚ ‘नागरिकले बुझ्नु पर्यो नि।’
त्यसपश्चात् पनि उनीहरू बीच दोहोरो संवाद भएको त्यी मन्त्रीले बताए।
आजको बैठकले जेनजीको प्रदर्शनमा भएको मानविय क्षतिको छानबिन गर्न १५ दिनको म्याद दिएर समिति बनाउने निर्णय पनि गरेको छ। यस्तै घाइतेको निशुल्क उपचार गर्ने निर्णय पनि भएको छ। यता‚ नैतिकता देखाउँदै गृहमन्त्री रमेश लेखकले पनि राजीनामा दिएका छन्।