Harsamaya
किताब–कापी बोकेका कलिला विद्यार्थीमाथि गोली चलाउनु क्रुर, निरंकुश र जनविरोधी कदम : डा. शेखर 
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला ।

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारले विद्यार्थीमाथि गरेको गोली प्रहारप्रति तीव्र आपत्ति जनाउँदै वर्तमान सरकारको औचित्य नै समाप्त भइसकेको टिप्पणी गरेका छन् । 

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले किताब–कापी बोकेका कलिला विद्यार्थीमाथि सरकारकै आदेशमा गोली चलाइएको भन्दै त्यसलाई सभ्य समाजले कहिल्यै कल्पना गर्न नसक्ने क्रुर, निरंकुश र जनविरोधी कदम भएको बताए । 

‘जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने निरंकुश क्रुर सरकारले हातमा किताब कापी बोकेर देश भित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा विद्यार्थीहरुमाथि बर्वर ढंगबाट गोली प्रहार गरेको छ’, उनले लेखेका छन् । 

सरकारले गरेका यी कुकृत्यहरूले मुलुकको उज्ज्वल भविष्य ध्वस्त पार्ने काम गरेको उनले आरोप लगाए । ‘प्रियजनको ज्यान गुमाउनु अपूरणीय क्षति हो, जसको निन्दा गर्दा पनि पर्याप्त हुँदैन’,कोइरालाले आक्रोश पोखेका छन् । 

‘श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मल्हम लगाउन नसक्ने उनले बताए । यस पिडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरुसँगै छु र रहिरहनेछु’, उनले प्रतिबद्धता जनाएका छन् ।  

उनले जेनजीहरूको माग समय सापेक्ष र जायज भएको बताएका छन् । ‘आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भन्दा अरु के होला र ?’,शेखरले प्रश्न गरेका छन् । 

डा. कोइरालाले भ्रष्टाचार निर्मूल गर्नु समयको माग भएको स्पष्ट गर्दै देशका सबै समस्याको विधिसम्मत समाधान खोज्न अब सबै एकजुट हुनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update