Harsamaya
प्रहरी महानिरीक्षक दीपक थापाको बिदाइ
सेवानिवृत्त प्रहरी महानिरीक्षक दीपक थापाको बिदाइ ।

काठमाडौं - सेवानिवृत्त प्रहरी महानिरीक्षक दीपक थापाको बिदाइ गरिएको छ । आज गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय आयोजित एक कार्यक्रमकाबीच सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापालाई शुभकामनासहित बिदाइ गरेका हुन् । 

उक्त अवसरमा गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापालाई बधाई दिँदै सेवा निवृत्तपछिको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे । 

सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापाले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवं इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उनले आगामी दिनमा पनि आवश्यकताअनुरूप राष्ट्रको सेवाका लागि थप महत्त्वपूर्ण योगदान गर्नुहुने शुभकामनासमेत व्यक्त गरे । 

सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी जस्तो गौरवशाली तथा नागरिकको अत्यन्तै नजिक रहेको र देशको आन्तरिक सुरक्षाको मेरूदण्डका रूपमा रहेको सुरक्षा निकायको सदस्य भई देश र नागरिकको सेवा एवं सुरक्षामा आफूलाई समर्पित गर्ने अवसर प्राप्त हुनु सौभाग्य र गौरवको विषय भएको बताए । 

उनले आफ्नो कार्यकालको अवधिमा संविधान र प्रचलित कानुनले प्रदान गरेको जिम्मेवारी पूर्ण इमानदार रहँदै पारदर्शी र निष्पक्षताका साथ निर्वाह गरेको उल्लेख गर्दै उक्त अवधिमा नेपाल प्रहरीको समयानुकूल आधुनिकीकरण, साङ्गठनिक सुदृढीकरण, विकास र स्तरोन्नतिका लागि नेपाल सरकार, गृहमन्त्रालयबाट प्राप्त भएको अभिभावकत्व, हौसला र मार्गनिर्देशनका लागि कृतज्ञता व्यक्त गरे । 

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update