Harsamaya
इन्द्रजात्राको लागि यःसिं लिन मानन्धर अगुवाहरु वन प्रस्थान

काठमाडौं - यस वर्षको यँयाः अर्थात् इन्द्रजात्राको लागि ‘यःसिं’ लिन मानन्धर समुदायका अगुवाहरु वन प्रस्थान गरेका छन् । प्रत्येक वर्षझैँ यस वर्ष आज यंलाथ्व दुतिया सोमबारको दिन केन्द्रीय मानन्धर संघका पदाधिकारीसहित मानन्धर समुदायका विभिन्न टोलका मानन्धर प्रतिनिधि, गुथि संस्थान, शार्दूल जंग गुल्म (गुरुजुको पल्टन ) सहितको टोली वन प्रस्थान गरेका हुन् ।

पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा दिइएको साइतअनुसार आज बिहान ठिक ९ः४६ को साइतमा हनुमान ढोकाको मूल ढोकाबाट बाहिरिएर वन प्रस्थान गरेका हुन् । आज वन प्रस्थानका लागि संघको अगुवाइमा गएका प्रतिनिधिहरूले आजै राति यस वर्षको यँया ( इन्द्रजात्रा ) को लागि यःसिं काट्ने अर्थात् वृक्ष कर्तन गरिने छ । 

यस वर्षको इन्द्रजात्राको लागि समितिले दिएको साइतअनुसार आज सोमबार राती ९:०३ को साइतमा वृक्ष कर्तन गरिनेछ । यसभन्दा अघि यःसिंको लागि छानिएको सल्लाको रुखमा विधि परम्पराअनुसार कालो बोकोसहित पूजा गरिनेछ । त्यसपछि सुनको बन्चरो, चाँदीको बन्चरोले साङ्केतिक रूपमा घाउ गरेपछि रुख काट्न सुरु गरिनेछ । आज राति साइत मात्र गरेपछि भोलि बिहानैदेखि यःसिंको लागि छनोट गरिएको रुख काट्न सुरु गरिन्छ भने भोलि नै उक्त यःसिं भक्तपुरको चित्तपोलदेखि तानेर ल्याइन्छ । 

सकेसम्म भोलि बेलुका नसके पर्सिसम्म यःसिं तानेर काठमाडौंको भोटाहिटीमा राखिनेछ । यसरी भोटाहिटीमा राखिएको यःसिं यंलाथ्व अस्तमि कायाःस्तमिको दिन बिहान ९ः५२ को साइतमा तानेर नगर प्रवेश गराइन्छ । भोटाहिटीबाट तानेर नगर प्रवेश गराइएको यःसिं हनुमानढोका कालभैरव र कागेश्वर महादेवका मन्दिर अगाडी राखिनेछ । 

त्यसपछि यंलाथ्व द्वादशि भदौ १९ गते बिहीबार बिहान १०ः३१ को शुभ साइतका यःसिं उठाइने इन्द्रध्वजोत्थान गरिने छ । यःसिं उठाएपछि काठमाडौंको मुख्य तथा ऐतिहासिक, धार्मिक यँया इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको मानिन्छ ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update