काठमाडौं - प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ । समिति सभापति अम्मरबहादुर थापाले शिक्षामन्त्री रघुजी पन्तलाई पाँच दिनभित्र सहमति गरेर आउन समय दिएका हुन् ।
उनले भने, ‘पाँच दिनभित्र सहमति जुटाएर पहिले मलाई दिनुपर्यो । आएर सिधैं पेपर पठाउनु भएन् । सचिवालयले त्यसलाई एग्रि गर्नुपर्यो । अनि म प्रस्तावको रुपमा यहाँ पेस गर्छु । त्यसकारण मैले पाँच दिनको समय छुट्याएको हुँ । सरकारलाई पाँच दिनसम्मको समय भयो । समयभित्र सहमति जुटाएर अर्को एजेण्डा ल्याउनुभन्दा पनि यसैमा सहमति जुटाएर अनुरोध गर्दै सरकारलाई बैठक अबको ६ दिनपछि बस्ने गरि पाँच दिनको समय दिएका छौं । विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउने अवसर दिएका हौं ।’
आइतबारको बैठकको सुरुमै शिक्षामन्त्री पन्तले विधेयकमा सहमति जुटाउन थप समय दिन आग्रह गरेका थिए । तर, समितिका सदस्यहरूले आक्रोश पोखे । उनीहरूले सरकारलाई पटकपटक समय दिन नहुने बताएका थिए ।
सबै सदस्यले धारणा राखिसकेपछि समितिका सभापति थापाले मन्त्रीलाई अब पाँच दिनभित्र सहमति जुटाउन भनेका हुन् । मन्त्री पन्तले सीमा नतोक्न आग्रह गरे पनि सभापति थापाले मानेनन् ।