
काठमाडौं - नेकपा एमालेको राजनीतिमा १० वर्षपछि पुनः क्रियाशील भएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सो हैसियतमा पाएको सरकारी सेवा सुविधा फिर्ता गर्ने भएकी छन् ।
पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा लिएर सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सरकारले दिएको सो हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइने भएको छ ।
गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रुपैयाँ भण्डारीलाइ उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै पूर्व राष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मीका लागि बस्न घर भाडामा लिइएको छ । भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा भने हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ ।
पूर्व राष्ट्रपति भण्डारीले गाडी सुविधा नलिएको तर २०७ लिटर पेट्रोल मासिक रूपमा उपलब्ध गराइएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै सुरक्षाकर्मीको घर भाडा सम्बन्धित घरधनीलाई नै उपलब्ध गराउने गरिएको गृहले जनाएको छ ।