
काठमाडौं - पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सांसद डा.एनपी साउदले नेपाल कृषि प्रधान मुलुक भएतापनि कृषिमै आत्मनिर्भर हुन नसकेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभामा बोल्दै उनले नेपालमा भएको जनशक्ति, जलस्रोतलाई पर्याप्त रुपमा प्रयोग गर्न नसकिएको भन्दै कृषि क्षेत्रमा सरकारले काम गर्न नसकेको बताएका हुन् ।
उनले भने,‘मुलुक कृषिप्रधान देश हो तर कृषिमै आत्मनिर्भर हुन सकेको छैन । त्यसका लागि धेरै कुरा जिम्मेवार छन् । हामीसँग भएको जनशक्ति, जलस्रोतलाई प्रयाप्त रूपमा प्रयोग गर्न सकिएको छैन । जलाधारहरूको परिवर्तन गरेर, सिँचाइको नहरहरूको विकास गरेर हामी कृषिमा आत्मनिर्भर हुन सक्दछौ । कृषिमा ९० प्रतिशत नेपालीहरू संग्लन भएकाले सम्पूर्ण नेपालीको जीवनयापन सहज बनाउन सरकारले काम गनुपर्छ ।’
यस्तै उनले महाकाली करिडोरमा हरेक वर्ष बजेट आउने तर काम हुन नसकेको भन्दै करिडोरको काम छिटो र समयमा सम्पन्न गर्न सके धेरै फाइदा हुने बताएका छन् ।
‘महाकाली करिडोरको लागि हरेक वर्ष बजेट आउँछ त्यो कोरिडोर महेन्द्रनगर देखि तिब्बतको तिङ्करसम्म फैलिएको छ त्यसलाई छोटो, छरितो र समयमा सम्पन्न गर्न सके उत्तर दक्षिणका बीचमा व्यापारिक रुपमा पनि फाइदा दिन सक्दछ,’उनले भने ।