काठमाडौं - नेपाल आयुर्वेद चिकित्सक संघ (एडान) ले नेपाल आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रार पदको छनोट तथा अन्तर्वार्ता प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँदै निष्पक्ष छानबिन र पारदर्शी प्रक्रिया सुनिश्चित गर्न माग गरेको छ।
संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै वरिष्ठ उपाध्यक्ष डा. रमेश पौडेलसँग भएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। विज्ञप्तिअनुसार प्रारम्भिक संक्षिप्त सूचीमा नाम समावेश नगरिएपछि निवेदन दिएर पुनः अन्तर्वार्ताका लागि नाम समावेश गरिएको भए पनि अन्तर्वार्तास्थलमा उपस्थित भएर हाजिर गरेपछि अन्तर्वार्तामा सहभागी गराउन नदिई फिर्ता पठाइएको दाबी गरिएको छ।
संघका अनुसार यस्तो कार्य अन्यायपूर्ण, दुःखद तथा प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको छ। साथै सम्बन्धित छनोट प्रक्रिया प्रचलित कानुन र कार्यविधिअनुसार भए वा नभएको विषयमा स्पष्ट जानकारी सार्वजनिक गर्न पनि संघले माग गरेको छ।
विज्ञप्तिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत सार्वजनिक निकायका पदाधिकारी छनोटसम्बन्धी कार्यविधिमा तोकिएका योग्यता र अनुभवका मापदण्ड पालना भए वा नभएकोबारे समेत प्रश्न उठाइएको छ।
नेपाल आयुर्वेद चिकित्सक संघले सम्पूर्ण छनोट तथा अन्तर्वार्ता प्रक्रियाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, उम्मेदवारमाथि भएको अन्यायको न्यायोचित सम्बोधन गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन पारदर्शी, निष्पक्ष र विधिसम्मत नियुक्ति प्रक्रिया सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
संघले विधिको शासन, पारदर्शिता, निष्पक्षता र योग्यतामा आधारित नियुक्ति प्रणालीप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।

