काठमाडौं - नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार डा. रामलाई विशेषज्ञ उपचार उपलब्ध गराउन आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको छ। मन्त्री मेहताले उपचारमा संलग्न चिकित्सक तथा अस्पताल प्रशासनसँग छलफल गर्दै उपचारका लागि आवश्यक सबै सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइन्।
यसैबीच मन्त्रालयले नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपचारका क्रममा हुने कुनै पनि विवाद वा अप्रिय घटनाको छानबिनका लागि कानुनी व्यवस्था विद्यमान रहेकाले कानून हातमा लिएर हिंसात्मक गतिविधि गर्नु कुनै पनि अवस्थामा स्वीकार्य नहुने मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाही अघि बढाउन स्थानीय प्रशासनसँग आग्रह गरेको छ। साथै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्भय भएर सेवा प्रवाह गर्न सक्ने वातावरण सुनिश्चित गर्न र अस्पतालको सेवा नियमित रूपमा सञ्चालन गर्न सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ।
मन्त्री मेहताले स्वास्थ्यकर्मीमाथिको हिंसा कुनै पनि सभ्य समाजका लागि अस्वीकार्य रहेको उल्लेख गर्दै स्वास्थ्य संस्थामा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नु सरकारको प्राथमिक जिम्मेवारी भएको बताइन्। यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी तथा प्रशासनिक कदम प्रभावकारी रूपमा अघि बढाइने उनले विश्वास व्यक्त गरिन्।

