काठमाडौं - नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई शपथ गराएका हुन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले मंगलबार नै खतिवडालाई उपकुलपतिमा नियुक्त गरेका थिए ।
शिक्षा मन्त्रालयका अनुसार रिक्त उपकुलपति पदका लागि गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा कार्यविधि–२०८३ बमोजिम खतिवडालाई नियुक्त गरिएको हो।
नाट्य विद्यामा विद्यावारिधि गरेका खतिवडा लामो समयदेखि संस्कृत साहित्य, अध्यापन र अनुसन्धानमा सक्रिय रहँदै आउनुभएको छ। उहाँ यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति र शिक्षाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
शपथपछि खतिवडाले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सम्पदाको संरक्षण तथा व्यवस्थापन, साथै कला, साहित्य, संस्कृति र धर्मसम्बन्धी अध्ययन–अनुसन्धानलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

